काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्ने चेतावनी दिएपछि १७ वटा कम्पनीले बक्यौता बुझाएका छन् ।
पर्यटन विभागका अनुसार सोमबार सेन्ट्रल मिडिया प्रालिले पाँच करोडमध्ये चार करोड रुपैयाँ बक्यौता बुझाएसँगै मन्त्री प्रेम आलेको चेतावनीपछि ७६ करोड ४५ लाख रुपैयाँ राजस्व उठेको छ ।
अब एक अर्ब ११ करोड ८४ लाख ४७ हजार उठ्न बाँकी रहेको विभागका होटेल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिए । मन्त्री आलेको निर्देशनपछि विभागले क्यासिनो रोयल्टी नतिर्ने क्यासिनो सञ्चालककाे तीनपुस्ते विवरण सार्वजनिक गरेको थियो ।
अब ६ वटा कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ । तीमध्ये एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको दुईवटा होटलमा गरेर १४ करोड छ । बैंक जमानत रहेकाले असूलउपर गर्न समस्या नरहेको जोशीले बताए ।
त्यस्तै सेन्ट्रल मिडिया प्रालिले १८ करोड ९० लाख छ । ह्याप्पी आवर प्रालि, होटेल याक एण्ड यति क्यासिनो रोयल, रक इन्टरनेशनल, ओरियन्टल होटल्ससमेत गरी जम्मा एक अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ ।
यसैबिच मन्त्री आलेले क्यासिनो सञ्चालनको रोयल्टीबापत बुझाउने पर्ने ८१ करोडभन्दा बढी राजस्व नतिरी भारतमा लुकेर बसेका क्यासिनो किङ राकेश बाद्वालाई इन्टरपोल लगाएर भए पनि नेपालमा ल्याएर कानुनबमोजिम कारबाही गर्ने बताएका छन् ।
आलेले अर्बौ रुपैयाँ राजस्व नतिर्नेहरूको विवरण कार्यालयमा पठाइएको र जायजेथाबाट असूलउपर हुने बताए ।







