काठमाडौँ । भारतमा जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज आयोजक भारतको सामना गर्दै छ ।
नेपाल र भारतबिचको खेल भारतको जमसेदपुरमा बेलुका ७ः१५ बजे सुरु हुनेछ । आज भारतलाई पराजित गर्दै नेपाल पहिलो जीतको खोजीमा हुनेछ । तर उपाधि दाबेदार भारतविरुद्ध जीत निकाल्न नेपाललाई त्यति सहज भने छैन ।
डबल राउन्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको पहिलो भेटमा भारतले नेपाललाई ७–० गोल अन्तरले पराजित गरेको थियो । नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको उक्त च्याम्पियनसिपमा नेपालले अङ्क जोड्न सकेको छैन ।
दुई खेलमा अङ्कविहीन रहेको नेपाल अङ्क तालिकाको अन्तिम स्थानमा छ । नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ४–२ गोल अन्तरले पराजित भएको थियो ।
त्यस्तै यसअघि दुई खेल खेलेको भारतले दुवै खेलमा जीत हात पार्दै ६ अङ्क जोडेको छ । भारत अङ्क तालिकाको शीर्षस्थानमा रहेको छ । समान दुई खेल नै खेलेको बङ्गलादेशको ३ अङ्क छ । बङ्गलादेश दोस्रो स्थानमा छ । च्याम्पियनसिपमा शीर्षस्थान हासिल गर्ने टोलीले उपाधि जित्नेछ ।