काठमाडौँ । सुर्खेतबाट अवैध रूपमा काठ ओसारपसार गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन्।
हिजो (शनिबार) राति १२ बजे लेकवेशी नगरपालिका-८ गन्नेपानीबाट ७८.९ क्युफिट काठसहित उनीहरूलाई पक्राउ गरिएको हो।
भे १ ख २७७९ नम्बरको मिनी ट्रकमा लोड गरी वीरेन्द्रनगरतर्फ ल्याउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
ट्रक चेकजाँच गर्नेक्रममा भुसको बोरामुनि लुकाएर राखिएको काठसहित ट्रक पनि नियन्त्रणमा लिइएको छ।
ओसारपसारमा संलग्न दैलेखको नारायण नगरपालिकाका यामबहादुर तारामी, बाजुराको बडिमालिका गाउँपालिका-६ का डम्मर बडुवाल र लेकवेशी नगरपालिका-८ का श्याम चपाइँ पक्राउ परेका हुन्।
अनुसन्धानका लागि काठ जिल्ला वन कार्यालय सुर्खेतलाई बुझाइएको प्रहरीले जनाएको छ।