काठमाडौँ। कोरोना भाइरसको नयाँ भेरियन्ट फैलन थालेपछि चीनको सांघाइमा चरणबद्ध लकडाउन सुरु भएको छ भने स्वास्थ्यकर्मीहरूले सामूहिक परीक्षण गर्न थालेका छन् ।
त्यस्तै सङ्क्रमण फैलन थालेसँगै आफ्नो कारखाना लकडाउन क्षेत्रमा रहेकाले आफ्ना उत्पादन बन्द गर्ने अमेरिकी कार निर्माता टेस्लाले जनाएको छ । चरणबद्ध तालाबन्दीका कारण चीनको आर्थिक हबका लाखौँ मानिसहरू आफ्नो घरभित्रै सीमित हुँदा विश्व तेलको मूल्यमा तीव्र वृद्धि भएको छ ।
ऊर्जा मागको त्रासबिच अमेरिकी बेन्चमार्क तेल सम्झौता वेस्ट टेक्सस इन्टरमिडियट (डब्लूटीआई)मा पाँच प्रतिशतले गिरावट आएको छ । सहरको पूर्वी आधा भागमा लकडाउन गरिएको छ । तर, बन्दरगाह र सहरका दुई विमानस्थलहरू भने खुला छन् ।
कोभिडको नयाँ सङ्क्रमण ओमिक्रोन भेरियन्टका कारण चीनमा पछिल्ला समयमा सङ्क्रमण दर बढेको छ । सन् २०१९ को अन्त्यमा वुहानमा पहिलो पटक यो भाइरस देखा परेदेखि गत महिना चीनमा सबैभन्दा धेरै सङ्क्रमणका घटना देखिएका छन् ।
आइतबार चीनमा एकै दिन ४५ सय नयाँ सङ्क्रमित भेटिएका थिए ।







