काठमाडौँ । जिल्लाको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिपरको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ ।
स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत सृष्टि र श्रेया घिसिङको टिपरको ठक्करबाट मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको हो ।
आक्रोशित स्थानीयले टिपरमा तोडफोड गरेका छन्, सडक अवरुद्ध पारेका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन बाक्लो प्रहरी परिचालन गरिएको छ । केही राउन्ड अश्रुग्याँससमेत प्रहार गरिएको छ ।
बिहान ८ बजे दुई जनालाई उनीहरुका बुबाले मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।
घटनामा उनीहरुका बुबा रोहन घिसिङ पनि गम्भीर घाइते छन् । चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ ।
घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार : टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु