वीरेन्द्रनगर । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको विकासका लागि छ वटा ‘ब’ लाई ध्यान दिनुपर्ने बताएका छन् ।
‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा उनले कर्णालीको समृद्धि र विकास भएको हेर्न चाहने हो भने राज्यका सबै निकायले छ वटा ‘ब’ लाई ध्यान दिनुपर्ने बताएका हुन् ।
मुख्यमन्त्री शाहीले सङ्घीय सरकारले गरिबी, भोक, रोग र पिछडिएको उपमा दिएको कर्णालीको मुहार फेर्नका लागि छ वटा ब (बाटो, बिजुली, बिचार, वन, बजार र व्यवस्थापन) लाई ध्यान दिन आवश्यक रहेको छ भने । ‘यहाँका सबै बस्तीमा यी छ ‘ब’ लाई अवलम्बन गर्न नसकेकै कारण कर्णालीको विकास हुन नसकेको हो’, उनले भने, ‘यदि कर्णालीका सबै बस्तीमा छ ‘ब’ को अवधारण पुर्याउने हो भने प्राकृतिक श्रोत साधनले भरिपूर्ण कर्णालीको मुहार फेर्न कसैको मुख ताक्नु पर्ने अवस्था आउँदैन ।’
मुख्यमन्त्री शाहीले कर्णालीमा हुने सबै खाले नराम्रा कामको दोष आफू लिने र प्रदेशमा बनेका बाटो, बिजुली, सिँचाइ, सडक, भवन, सरसफाइलगायतका नयाँ र राम्रा कार्य भए त्यसको जस जनतालाई दिने बताए । उनले कर्णालीको समृद्धि र विकासका लागि सबैले सकारात्मक रूपमा अगाडि बढ्नुपर्ने बताए ।