चन्द्रौटा । सात वर्षीय सकिल अहमद हातभरि हिलो छोपेर माटो मुछिरहेका छन् ।
हिलो माटोलाई डल्लो बनाएर इँटा बनाउने साँचोमा हाल्नमा उनी व्यस्त छन् । सकिलको दैनिकी यसै गरी चलिरहेको छ । उनको शरीर पनि हिलाम्मे भएको छ । उनीसँगै परिवारका अन्य सदस्य पनि इँटा बनाउन व्यस्त छन् ।
उनी विद्यालय र कापी किताबबारे अनविज्ञ छन् । सकिलको परिवार भारतको बरेलीबाट रोजगारीका लागि यहाँ आएको हो । उनको परिवार कपिलवस्तुको फाइबस्टार इँटा उद्योगमा इँटा बनाउने काम गर्छ ।
सकिल दिनभरि इँटा बनाउँछन् । बालबालिकालाई श्रममा लगाउन नपाइने भए पनि जिल्लाका अधिकांश इँटा उद्योगमा परिवारसँगै उनीहरू पनि इँटा बनाउने गर्छन् ।
विद्यालय जाने उमेरका बालबालिका इँटा बनाउनमा व्यस्त देखिन्छन् । खास गरी भारतीय बालबालिका इँटा उद्योगमा मजदुरी गर्दै आएका छन् ।
भारतको बरेलीबाट सपरिवार मजदुरी गर्न आएका अम्जद खानका १६ वर्षीय छोरा करम र १३ वर्षीय रुक्सान परिवारसँगै इँटा उद्योगमा काम गर्दै आएका छन् । नेपाल आउनु अघि करम भारतमा अध्ययन गर्थे । नेपाल आएपछि उनले पढ्न छोडेको बताए ।
नेपालमा धेरै भारतीय नागरिकका छोराछोरीले इँटा उद्योगमा काम गरिरहेको शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताए । बालबालिकालाई काम गर्न लगाउने इँटा उद्योगको नवीकरण नगरिने उनी बताउँछन् ।
दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियार श्रमिकका बालबालिकाको शिक्षाका विषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउँछन् । शिवराजसँगै महाराजगन्ज र बुद्ध भूमि नगरपालिकाका इँटा उद्योगमा ४०० भन्दा बढी बालबालिका इँटा उद्योगमा काम गर्छन् ।
शिवराज नगरपालिकाले इँटा उद्योगमा कार्यरत बाल श्रमिकलाई अनौपचारिक शिक्षा प्रदान गर्न तीन महिने कक्षा सञ्चालन गर्ने योजना बनाएको छ ।







