काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आगामी सुक्खायाममा विद्युत् आपूर्ति सहज बनाउन १ हजार १ सय ५४ मेगावाट विद्युत भारतबाट आयात गर्ने भएको छ ।
सोमवार काठमाडौँमा पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सुक्खायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने उक्त मात्रामा विद्युत आयात गर्ने योजना रहेको बताएका हुन् ।
उनकाअनुसार हाल सुक्खायाममा आन्तरिक उत्पादनबाट कुल १ हजार २ सय १८ मेगावाट विद्युत उपलब्ध हुने प्राधिकरणको अनुमान छ । उनले ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट ६ सय मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३ सय ५० मेगावाट र आरटिसीमार्फत १ सय ५० मेगावाट विद्युत आयात गर्ने प्राधिकरणको योजना रहेको बताए । उनका अनुसार आन्तरिक उत्पादन र आयात गरी सुक्खायाममा कुल २ हजार ३ सय ७२ मेगावाट विद्युत उपलब्ध हुने प्राधिकरणको अनुमान छ । अघिल्लो आर्थिक वर्षको सुक्खायाममा राष्ट्रिय विद्युत मागको उच्चतम बिन्दु २ हजार २ सय ९२ मेगावाट पुगेको थियो ।
कार्यकारी निर्देशक श्रेष्ठले गत भदौ १० मा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली–३ बीको २ सय २० केभी हब तथा विभिन्न जलविद्युत केन्द्रमा क्षति हुँदा ४ सय ३० मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको बताए । बाढीबाट प्राधिकरण र सहायक कम्पनीका संरचनामा करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
उनले भने, ‘सुक्खायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता १ हजार २ सय १८ मेगावाट रहेको छ । माग र आपूर्ति सन्तुलनका लागि ढल्केबर-मुजफ्फरपुरबाट ६ सय मेगावाट, टनकपुर-महेन्द्रनगरबाट ५४ मेगावाट र विहारका विभिन्न विन्दुबाट ३ सय ५० मेगावाट, आरटिसीको माध्यमबाट १ सय ५० मेगावाट गरी कुल १ हजार १ सय ५४ मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ । जसअनुसार कुल विद्युत उपलब्धता २ हजार ३ सय ७२ मेगावाट हुने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षको सुक्खायामको उच्चतम राष्ट्रिय विद्युत् २ हजार २ सय ९२ मेगावाट रहेको थियो । त्यस्तैगरी भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा बाढीले माथिल्लो त्रिशूली ३ बी २ सय २० केभी हबमा पुगेको क्षतिका कारण र विभिन्न जलविद्युत केन्द्रमा पुगेको क्षतिका कारण विद्युत उत्पादन हुन नसकेका कारण ४ सय ३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर गएको थियो । यो क्षेत्रमा प्राधिकरण र सहायक कम्पनीहरूको अनुमानित ७४ अर्ब क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । खोज र उद्धारको कार्य सम्पन्न भइसकेपछि त्यस क्षेत्रका टनेल र पावर हाउसमा जम्मा भएका डेब्रिज र फोहोरहरू गर्छौँ । यो सम्पूर्ण सफा गरिसकेपछाडि मात्रै वास्तविक नोक्सानिको विवरण संकलन हुने छ । त्यसपछि पुनर्निमाणको लागि स्रोत व्यवस्थापनको कार्य अघि बढ्नेछ । ड्राइ सिजनको इनर्जी हाम्रो उत्पादन १ हजार २ सय १८ मेगावाट जतिहुनेछ । लगभग ११५४ मेगावाट हामीले चाहिँ विद्युत आयात गरेर आपूर्ति सहज बनाउँछौँ ।’
खोज तथा उद्धारको काम सम्पन्न भइसकेपछि प्रभावित क्षेत्रका सुरुङ र पावरहाउसमा जम्मा भएको डेब्रिज तथा फोहोर हटाउने काम अघि बढाइने उनले जानकारी दिए ।






