काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आज (आइतबार) बिहान सवा ५ बजे काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित सडकखण्डको ग्रिनविच स्कुल नजिकै खहरेबाट पेप्सीकोला जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो ।
बा ५० प ९९३३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
मोटरसाइकलमा सवार ओखलढुङ्गा सुनकोशी गाउँपालिका वडा नम्बर ६ घर भई बौद्ध नयाँ बस्ती बस्ने ३२ वर्षीय कमल आले मगर र २१ वर्षीय गोपाल आले मगरको मृत्यु भएको हो ।
उनीहरू दुवैको टाउको र शरीरको भित्री भागमा चोट लागेर घाइते भएपछि तत्काल ट्रमा सेन्टर लगिएको थियो ।
उनीहरूको उपचारको क्रममा सवा ६ बजे मृत्यु भएको परिसरले जनाएको छ ।
मोटरसाइकल कसले चलाएका थिए खुलेको छैन । घटनासम्बन्धी आफन्तलाई जानकारी गराइसकेको छ । घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।