लहान । धनुषाको धनौजी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा दुई हजार २६२ प्राप्त गरी राजकुमार साहले जित हासिल गरेका छन् भने उपाध्यक्षमा रामवतीदेवी मण्डल दुई हजार ४३० मतका साथ विजयी भएकी हुन् ।
साहका प्रतिस्पर्धी लोपसाका जीवेन्द्र झाले दुई हजार १६२ तथा उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी लोसपाकै रञ्जितादेवी मण्डलले एक हजार ९०१ मत प्राप्त गरेको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए । पाँच वडा रहेको सो गाउँपालिकामा १३ हजार ६८५ मतदाता छन् ।
यसैगरि धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा तीन हजार १५८ मत प्राप्त गरी जसपाका दिपीनदेव यादव र उपाध्यक्षमा काँग्रेसका कमला सहगल दुई हजार ९९८ मतसहित निर्वाचित भएका हुन् ।
यादवले नेपाली काँग्रेसका सुदेशकुमार चौधरीलाई ३८० मतान्तरले पराजित गरेका छन् भने उपाध्यक्षमा सहगलले जसपाका गीता सुडीलाई १५८ मतान्तरले पराजित गरेका छन् ।
६ वडा रहेको सो गाउँपालिकामा कूल १६ हजार ६३३ मतदाता रहेका छन् ।