काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा निजी कम्पनीको जिम्मा लगाउने कार्यक्रम लागू नगर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आज (बुधबार)को बैठकमा मन्त्री खतिवडाले स्वास्थ्य बिमा नाफा कमाउनका लागि ल्याइएको योजना नभएकाले निजी कम्पनीलाई नदिइने जवाफ दिएका हुन् ।
स्वास्थ्यमन्त्री जनार्दन शर्माले के भन्छन् भन्नेमा आफूलाई जानकारी नभएको बताएका मन्त्री खतिवडाले आफू भने स्वास्थ्य बिमा निजी कम्पनीलाई नदिने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी वर्षको बजेट तथा योजनामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खतिवडाले अर्थमन्त्रीले पनि त्यसबारे जवाफ दिएको बताए ।
‘स्वास्थ्य बिमाबारे अर्थमन्त्रीले निजीलाई दिने नियत होइन भन्नुभएको थियो । बजेट आएपछि अर्थमन्त्रीसँग बुझ्न पाएको छैन’, उनले भने, ‘स्वास्थ्य बिमा ऐन विपरीत जाने गरी म त्यो काम गर्दिनँ र यो स्वास्थ्य बिमा नितान्त व्यापारिक नाफाको प्रयोजनका लागि नभएको हुनाले स्वास्थ्य मन्त्रालय त्यसमा जाँदैन ।’
मङ्सिर महिनासम्म आफू संसद्मा नै रहने भएकाले सांसदहरूलाई स्वास्थ्य बिमा निजीलाई दिन्छ कि भन्नेमा शङ्का नराख्न मन्त्री खतिवडाले आग्रह गरे ।
स्वास्थ्य बिमा निजीलाई नदिने भनेर सरकारले जवाफ दिइसकेपछि पनि सांसदहरूले त्यसै विषयबारे प्रश्न गरेकोमा उनले असन्तुष्टि जनाएका थिए ।







