२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीवन र भोगाई

अ+ अ-

१. विषय प्रवेशः
जीवन भन्नु कहानीको संगालो हो । हरेक मानिसको जीवनमा आ-आफ्नै कहानी हुन्छ, भोगाई र अनुभव हुन्छ । त्यही भोगाई र अनुभवको वृहत् सँगालो हो जीवन । मानिसको जीवनमा पृथक्-पृथक कथा हुन्छ, व्यथा हुन्छ फरक यति हो कसैको कोरिएको हुन्छ भने कसैको कोरिएको हुदैंन । तीन दशकको मेरो जीवनमा मैले पनि केही भोगाई र अनुभूति सँगालेको छु । त्यही विषयलाई संक्षिप्तमा यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।

२. गाउँमा हुँदा:
खोटाङ जिल्लाको सदरमुकामभन्दा निकै टाढाको एउटा विकट गाउँमा जन्मिएको म । लामो बाटो हिँडेर स्कुल जानु पर्थ्यो । गाउँमा बाटोघाटो पनि राम्रो थिएन । खेतको आली अनि कुलाको छेउछेउ हुँदै हिँडेर बल्लतल्ल स्कुल पुगिन्थ्यो ।यसै गरेर गाउँकै शिशु माध्यमिक विद्यालयबाट माध्यमिक तहसम्मको पढाई सके । गाग्रीमा पानी र डोकोमा घाँस बोकेर, ढिकीजातो अनि मेलापात यस्तै थियो मैले बाँचेको परिवेश । मध्यम वर्गको परिवारमा जन्मिएको म जीवनमा कुनै ठुलो सपना थिएन । घरछेउको खरवनमा बिदाको दिन घाँस काट्न जाँदा लामिडाँडा(खोटाङ) एयरपोर्टमा प्लेन उडेको देखिन्थ्यो हामी टाढाबाटै हेरेर रमाइलो मान्थ्यौँ । टाढाबाट सानो सियो जस्तै देखिने प्लेन आखिरी कहाँ जाँदा चढ्न पाईदों हो भनेजस्तो लाग्थ्यो । त्यो ग्रामीण क्षेत्रमा भोगेको दुःख अभाव र दबाबले जीवनमा केही गर्नुपर्छ भन्ने सपना र महत्त्वाकाङ्क्षा बुन्न सिकायो । गाउँमा बाचेको त्यो प्रिय विगत सम्झेर जीवनको उकाली चढ्न सिकाई रहन्छ आधार बनिरहन्छ ।

३. बुबाको प्रेरणा:
थुलुङ राई भाषामा बुबालाई “पाप” भनिन्छ र छोटकरीमा “पा”पनि भन्ने गरिन्छ । यसैले म बुबालाई “पा” भन्छु, यसमा मलाई बेग्लै मज्जा अनि गर्व लागेर आउँछ । मेरो “पा” वास्तवमै मेरो लागि हौसला र ऊर्जाको पहिलो स्रोत, पहिलो गुरु र जीवनको दर्शन हुनुहुन्छ ।बुवाले सधैँ पढ्नु पर्छ र जागिर खानुपर्छ भनिरहनु हुन्थ्यो तर के जागिर र कसरी खाने त्यो चाहिँ कहिल्यै भन्नु भएन । “छोरी भनेको अर्काको घर जाने जात भन्दै”छोरीलाई स्कुल पठाउन नचाहने हाम्रो समाजमा मेरो “पा” ले मलाई रौसिएर सधैँ स्कुल पठाउनु हुने म त्यस्तो एक भाग्यमानी छोरी हुँ । बिजुली पुगेकै थिएन गाउँमा । टुकी बाल्न मट्टीलेको जोहो गरिदिनु हुन्थ्यो । म त्यही मधुरो टुकी बालेर रातभर पढ्दै उज्यालो भविष्य खोजी रहेको हुन्थे । “पा”ले हरेक साल ढाकरमा नयाँ किताब किनेर ल्याउनु हुँदा यती खुसी हुन्थे की संसारकै खुसी व्यक्ति सायद मै हुँ जस्तो लाग्थ्यो मलाई । स्कुल नजाऊ कहिल्यै भन्नु भएन, पढाई खर्च छैन भनेर कहिल्यै भन्नु भएन । मागेको कुरा पुरा गर्न सक्दिन भनेर त आजसम्म पनि भन्नु भएको छैन । जीवनमा आई पर्ने हरेक गाह्रो र अप्ठ्यारोमा पनि उहाँको सल्लाह, सुझाव, आड र भरोसा लिन्छु । उहाँ भन्नुहुन्छ कि ‘हिमाल काटी जाने हिम्मत थियो रे कसैको तर बस्दा बस्दै आँगन परदेश भयो रे’ । अझै थप्नुहुन्छ कि हिँड्यो भने छेउ लाग्छ बसे लेउ लाग्छ। जीवनलाई क्रियाशील राख्नु पर्छ, समयानुसार जिउनु जान्नु पर्छ यो उहाँको मान्यता हो । आजको दिनमा म जे छु मेरो “पा”को ऊर्जा र हौसलाको कारणले गर्दा हो । बुवाले पढ्नको लागि दिएको प्रेरणा र हौसला नै मेरो जीवनमा सफलता प्राप्तका आधारहरू हुन् ।

४. निजामती सेवामा आउनु अघि:
निजामती सेवामा आउनु अघि म शिक्षण पेसामा आबद्ध थिए । शिक्षा सङ्कायबाट स्नातक गरेर मैले आफू पढेकै विद्यालयमा पढाउन सुरु गरेको थिए । यो मेरो जीवनको पहिलो र महत्त्वपूर्ण अवसर थियो । जीवनमा एउटा असल शिक्षक बन्ने अभिष्ट रहर थियो । जुन विद्यालयमा म आफू पढे, पेन्सिल र कागजको टुक्रामा आफ्नो सपना कोरे वास्तवमा त्यही स्कुलको शिक्षक बन्न पाउँदा गर्व पनि लाग्ने रहेछ । शिक्षक मेरो लागि मन पर्ने पेसा र प्यासन दुवै थियो । मेरो जीवनको आदर्श पात्रको रूपमा म शिक्षकलाई लिन्थे । त्यही रहर त्यही आदर्शमा करिब ६ वर्षसम्म स्कुलमा पढाएर बिताएका समय मेरो लागि धेरै महत्त्वपूर्ण रहन गयो । कक्षाकोठामा विद्यार्थीलाई सिकाएको कुरा मज्जाले बुझि दिंदाको जस्तो आनन्द र खुसी आजसम्म मैले अन्त कतै पाएको छैन ।

५. विवाह टर्निङ पोईन्टः
गाउँकै शिशु मा. वि. बाट स्कुल लेवलको पढाई सकियो । जिल्ला सदरमुकामको कलेजबाट स्नातक तहको पढाई सकेपछि थप पढाइको लागि म काठमाडौँ जाने योजनामा थिए । तर, यो बिचमा विवाह भएपछि तत्काल आफ्नो पढाइलाई अघि बढाउन सकिन । त्रिभुवन विश्वविद्यालयको एउटा नियमित विद्यार्थी बनेर कीर्तिपुर मा डेरा गर्ने र बा-आमाले गाउँबाट पठाएको खर्चलाई अड्कलेर खर्च गर्दै पढ्ने मनभित्रको चाहना अधुरो भयो । भन्छन् यात्रामा एउटा बाटो बन्द भयो भने अर्को गोरेटो खोज्नु पर्छ । मैले पनि आफूले हिँड्न सक्ने बाटो पहिल्याउन थाले ।

विवाहपछि श्रीमान्‌को कोठामा भएका किताबका थुप्रो नै मेरो नयाँ यात्राको थालनी बन्न पुग्यो । सँगसँगै पढेका साथीहरू मास्टर गर्न सहर पस्दा म भने गाउँमा नै बस्न बाध्य भएको थिए । सोचे यसैलाई मेरो लाइफको टर्निङ पोईन्ट बनाउँछु भनेर । बाटो मोडेर भए पनि यात्रा उकालीकै गर्छु भन्ने अठोट लिए । यसका लागि मेरो श्रीमान्‌को साथ, सहयोग र सद्भाव थप प्रेरणाको स्रोत बने ।हातमा किताब र काखमा सानो बच्चा सहित नयाँ यात्राको थालनी गरे । अब मैले लोकसेवा आयोगको तयारी गर्न थाले । विवाह नै मेरो जीवन यात्राको बन्यो- नयाँ टर्निङ पोईन्ट ।

६. पढाई व्यवस्थापन:
हामी सबैलाई प्राप्त हुने समय हो- चौबिस घण्टा । यसमा हामीले कुन समयलाई कसरी उपयोग गर्‍यो भन्ने कुरा महत्त्वपूर्ण पक्ष हो। लोक सेवा आयोगको तयारी गर्दा मैले मिनेट-मिनेट समयको उपयोग गरे जसमा एक घण्टा त निकै ठुलो समय हो। हरेक दिनको तालिका बनाए, हप्ता-हप्ताकोसूची बनाए र महिना-महिनाको योजना बनाए । कुनै पनि समय खेर फालिन मैले । मैले हरेक समयलाई एकत्रित गरेर पढाइमा खर्च गरे । खाना बनाए, कपडा धोए, स्कुल पढाए, बच्चालाई हेरचाह गरे, छिमेकीलाई सहयोग गरे, आफन्तको निम्तो माने, बुहारीको भूमिका निभाए सबै थोक गरे र पनि पढी नै रहे । कोर्सको हरेक टपिकलाई हरेक कामसँग बाडेर काम र पढाइसँगै लाने रणनीति नै मेरो सफलताको कारक बन्न पुग्यो । त्यस बेलाको सामान्य ज्ञान, नवयुवा, युवा मञ्च, अन्तर्राष्ट्रिय मञ्च जस्ता ज्ञानगुन भएका लोकसेवाको खुराक पस्कने पत्रिकाहरू महिनौँपछि मात्र पुस्तक पसलमा आईपुगेपनि नियमित किनेर हेरिरहन्थे, पढिरहन्थे । जति धेरै पुस्तक पढ्‌यो त्यति ज्ञानको दायरा बढ्ने हुनाले पुस्तक किन्नमा कहिल्यै कुनै कन्जुस्याइँ गरिन मैले । एकसरो लुगा र एक जोर चप्पल लगाएर धेरै पुस्तक पढ्नमा निकै आनन्द लाग्ने मलाई । थोरोले भनेका पनि छन् कि –पुरानो कोट लगाऊ तर नयाँ पुस्तक किन ।

७. निजामती सेवामा पहिलो खुड्किलो:
त्यत्तिखेर गाउँ(दोर्पा)बाट दिक्तेल आउँदा खेरी सडक पनि बनिसकेको थिएन । अहिले त ग्रामीण र मध्य पहाडी लोक मार्गको राम्रै सडक मार्ग बनिसकेको छ । त्यो मेवाखोलादेखी ठाडो उकालो हिँडेर दिक्तेल आई पुग्नुपर्ने । साथमा सानो बच्चा अनि भारीको कुम्लो त छदैंछ । लोकसेवाको परीक्षा सकेर गाउँको घरमा पुगेर दिक्तेल फर्कने क्रममा थियौँ । उकालो हिँडिरहेको बेला टाटा ईन्डिकमको सानो मोबाइल फोनमा खरिदारमा नाम सिफारिस भएको खबर आयो । खुसीले बाटैमा आहा भनेर चिच्याएछु ।

बाटो छेउमा गाई गोठालो गर्नेले “के भयो नानी”भन्दा पो बेस्मरीलाज लागेको अहिले पनि याद आउँछ । त्यसपछि लोक सेवा आयोग सगरमाथा अञ्चल कार्यालय खोटाङको सिफारिस लिएर नियुक्ति लिन लागि सिराहा जिल्ला पुग्न पर्‍यो ।

डिभिजन सहकारी कार्यालय लहानबाट सरकारी जागिरे जीवनको सुरुवात भयो । खरिदारको नियुक्ति लिनको लागि पहिलो पटक सिराहा जिल्ला जाँदा खोटाङको जाडो सम्झेर बोकेको सिरक र स्विटर, छोराले गाडी चढ्न नमानेर रोएको त्यो दिन,गाडिले मातेको, त्यो थोत्रो बसको झुर यात्रा अनि कार्यालयमा अधिकृत नभएको कारण फेरी नियुक्तिको लागि सिराहाबाट काठमाडौँतर्फ जान परेको झन्झट र पीडालाई संम्झदा अहिले पनि अत्यास लागेर आउँछ ।

यी सबै पीडा हरणको लागि एउटै धुन रेटिरहे कि मैले त लोकसेवा आयोगको परीक्षा पास गरेको छु, त्यसैले यस्ता पीडालाई मैले भुल्नु पर्छ । वि.सं. २०६७ सालमा खरिदार पदमा नियुक्ति लिएसँगै निजामती सेवामा जागिर सुरुवात गरेको नै आजसम्म करिब बाह्र वर्ष लागेछ । सम्झेको थिए खरिदारमा नियुक्ति भएपछि अब भने मेरा दुखका दिनहरू गए । अब मैले पढ्नु पर्ने कामै सकियो । अब मेरो उद्देश्य पूरा भए र यात्राहरू पूरा भए……… ।

तर, खासमा दुःखका दिन र खास यात्रा चाहिँ अब सुरु भएको रहेछ भनेर पत्तो पाउन मलाई आजसम्मकै दिनहरू बिताउन पर्‍यो । बुझ्दै जाँदाखेरि थाहा हुँदै गयो कि दुःख अझै बाकी रहिछ, पढ्नु त अझै धेरै नै छ, सिक्नु त झन् कति हो कति र भोग्न झनै धेरै बाँकी छ । एउटा डाँडा सिर्फ देखेको रहिछु मैले । त्यहाँ पुगेपछि फेरी पनि अझै शिखर टन्नै रहेछ । अर्को अग्लो पहाड देख्नै बाँकी रहेछ टेक्नै बाँकी रहेछ ।

८. शाखा अधिकृत हुने मेरो सपना:
लोक सेवा आयोगबाट खरिदार पदमा सिफारिस लिएर डिभिजन सहकारी कार्यालय लहान सिराहामा पहिलो पटक नियुक्ति लिन जाँदा खेरी त्यस कार्यालयमा कार्यालय प्रमुख शाखा अधिकृत नहुँदा झोली तुम्बी बोकेर पुनः काठमाडौँसम्म पुग्नु परेको हैरानीबाटै मैले अधिकृतको महत्त्व बुझिसकेकी थिएँ । कार्यालयमा हाजिर भएपछि सिराहाको खपिनसक्नुको उखरमौलो त्यो गर्मी,लामखुट्टेको टोकाई सहदैं सिलिङ फ्यानको तातो हावा खाएर लाए अह्राएको काम मात्र गरेर बस्नु भनेको आफ्नै शैक्षिक योग्यताकै अपमान गर्नु हो भन्ने कुराले मनभित्र कतै घोच्न थाल्यो मलाई ।

सहकारी संस्थाको दर्ता गर्ने, नवीकरण गर्ने, तालिम दिने र स-साना पुँजी भएकाहरूको लागि बचत गर्दै आत्मनिर्भर बनाउन सरकारको तर्फबाटका गर्ने यो कार्यालय मलाई अति मन परेको थियो । साडी लगाएका र घुम्टो ओडेका महिला दिदीबहिनीहरू साइकलको पाईडल घुमाउँदै कार्यालयमा आएर आफ्ना हजार दुःखहरू सुनाउँथे ।

आफू कार्यालय प्रमुख जस्तो निर्णायक भूमिकामा नहुँदा खेरी त्यसको सही समाधान गरिदिन नसकेर केवल मुख दर्शक बन्नु शिवायः कुनै उपाय थिएन मसँग । यही कुराले पनि मलाई अधिकृत अर्थात् नेपाल सरकारको अधिकार प्राप्त अधिकारी हुनुपर्छ भन्ने कुराले सदा प्रेरित गरिरह्यो । म अब नायब सुब्बा छाडेर सिधै शाखा अधिकृतको तयारी गर्न थाले । सपना देखेर मात्र भएन पूरा गर्न हरदम मेहनत, लगनशीलता र धैर्यताको खाँचो हुन्छ नै । म यही कुराहरूको अनुसरण गर्दै आफ्नो सपना पूरा गर्न डटेर लागे ।

लाग्छ, सफलताको लागि मान्छेमा सकारात्मक सोचको विकास हुनै पर्छ । म हर बाधा र अवरोधहरूलाई अवसरको रूपमा लिने गर्छु । त्यसबिचमा सरुवाको चक्करले नराम्ररी घुमायो मलाई । सानो बच्चा च्यापेर सिराहाबाट खोटाङ अनि खोटाङबाट काठमाडौँ धाउनु पर्दा आउने तलबभन्दा बढी खर्च हुन पुग्यो । यो अवस्थाबाट मैले अझै पढ्नु पर्ने ऊर्जा र प्रेरणा लिए अनि सोही अनुसार अघि बढिरहे लम्किरहे । मनमा असल भाव बोकेर सत्कर्म गर्नेलाई कसैले नहेरे पनि भगवानले अवश्य हेर्छ जस्तो लाग्छ मलाई। परीक्षाको तयारी गर्ने क्रममा सासू आमाको उपचारको सिलसिलामा अस्पतालमा बस्न पर्ने भयो ।

माघ महिनाको काठमाडौँको चिसो,सिभिल हस्पिटलको बसाई अनि अधिकृतको तयारी । अधिकृतको तयारी गर्ने क्रममा मैले यस्तै भोगे । यद्यपि मैले जे गर्न सके त्यो गरे र निरन्तर गरी नै रहे । केही कुराले साथ दिएन होला तर बानेश्वर, थापा गाउँ, अनामनगर, न्यु प्लाजा हुँदै पुतली सडक जाने त्यो खैरो कलरको नेपाल यातायात चाहिँ सिर्फ मेरै लागि चलेको हो झैँ लाग्थ्यो । म त्यो गाडीको भिडमा न्यानो महसुस गर्दै तयारी कक्षाहरू लिन जान्थेँ र त्यसै गरी फर्केर आउँथे। धन्न अफिसले बिदा दिएको थियो ।

बिहानै बिरामी आमाको लागि तातो चिसो बनाउनु, खाना र खाजा तयार गर्नु,सरसफाइ गर्नु, प्रेसर नापिरहनु, बेला-बेलामा औषधी खुवाउनु र अप्रेसनको लागि सम्पूर्ण तयारी गर्नु अनि यसैको बाबजुद पनि पढ्नु त छदै थियो । किनकि मलाई अधिकृत बन्नु थियो ।मेरो सपना पुरा गर्नु थियो । कहिले काहीँ परिवारको स्वास्थ्यभन्दा आफ्नो सपना गौण लाग्थ्यो । खासमा त्यस बेला मेरो सास आमाको अप्रेसन गर्नु थियो । अप्रेसनको मिति र मेरो परीक्षाको मिति सँगसँगै जस्तो भयो । तर सबै कर्तव्य र जिम्मेवारी पुरा गरिसकेपछि जे जस्तो समय र मेरो मनस्थिति बाँकी रहन्थ्यो मैले त्यसैको उपयोग गरिरहे । हस्पिटलमा, बाटोमा, गाडीमा, किचनमा हर ठाउँमा पढी नै रहे । अन्त्यमा, आमाको अप्रेसन र मेरो परीक्षा पनि सँगै सकियो । साउन महिनाको एक दिन जिल्ला प्रशासन कार्यालयको व्यस्त भिडमा नागरिकता लेखिरहेको बेला शाखा अधिकृत पदमा आफ्नो नाम निस्किएको खबर सुन्दा धेरै नै खुसी भए ।

९. कार्यालय प्रमुखको अनुभव:
अधिकृत पास भएपछि लामो आवासीय तालिम सकेर कार्यक्षेत्र रोज्नु पर्दा उपत्यका बाहिर जाने सायद म मात्र एक्लो थिए- महिला अधिकृत । जिल्ला हुलाक कार्यालय खोटाङमा हुलाक अधिकृतको रूपमा पहिलो पटक कार्यालय प्रमुखको रूपमा काम गर्दै थिए । कार्यालयमा जाँदा खेरी हाकिम साब भनेर गरेको सम्बोधनले निकै पुरानो शैली जस्तो अनौठो र अप्ठ्यारो अनुभूति भएको थियो । पछि विस्तार-विस्तारै बानी पर्दै गयो । महिला पनि हाकिम हुने रहेछन् भनेको सुन्दा अचम्म लागेर आउँथ्यो । पहिलो पटक कार्यालयमा महिला कार्यालय प्रमुखको रूपमा पाउँदा खुसी पनि व्यक्त गर्थे । काम छिटो छरितो र सहज रूपमा हुने गरेको भनी विश्वास व्यक्त गरेको पाए ।

सरकारी कार्यालयमा जागिर खानु भनेको गफ गर्नु हो भनेजस्तो मनोभावलाई तोडेर काम गर्नुपर्छ र कामको सम्मान गर्नुपर्छ भन्ने मेरो मान्यता अनुसार कार्यालय सञ्चालन गर्दै गए । यस्ता धेरै अनुभवहरू छन् जो महिला भएर कार्यालय प्रमुख भएको कारण मैले बटुल्न पाएको छु। कार्यालय प्रमुखको कक्षमा महिलालाई बसेको देखेर व्यक्त भएका ती अविश्वासका भाव अनि हाउभाउलाई सहजै अनुमान गर्न सक्थे र बुझ्न सक्थे ।

मालपोत कार्यालयमा मालपोत अधिकृतको रूपमा हुँदा धेरैले म कहाँ आएर हाकिम सा’ब कता हुनुहुन्छ भनेर सोध्थे र म आफैँ हुँ भन्दा हो र ? भनेर अचम्म मान्थे । सुरु सुरुमा मलाई पनि थाहा भएन धेरै जसो सेवाग्राहीहरू ढोकासम्म आएर कोठाभित्र मलाई हेर्दै फर्कँदै गर्थे । अर्को कोठामा गएर हाकिम सोधेर फेरी म भएको ठाउँमा आउने गर्दथेँ । यी सबै परिदृश्यले के देखाउँछ भने हाम्रो समाजमा अझै पनि महिलाको प्रमुख भूमिकालाई सहज रूपमा स्वीकार गर्न सकेको छैन । घरको घेरा तोडेर बाहिर निस्कने कामकाजी महिलाले अझै पनि आफ्नो पदीय भूमिका र दायित्व पूरा गर्न कामको प्रमाणित गर्नु पर्ने अवस्था छ । भूमिकाको हिसाबले दोहोरो मात्र होइन बहुभुमिकामा रहनु पर्दछ । अफिसबाट घर पुग्न नपाईकन लगाएको युनिफर्म खोलेर सिधै किचनमा पुग्नुपर्छ । यी सब हैरानीमा पनि पनि छुट्टै मज्जा छ । मज्जा लिन र रमाउन पनि जान्नु पर्छ हरेक कुरा आफैँ सहज अनि प्रिय हुन्छ ।

१०. उपसचिवको तयारी र सफलता:
शाखा अधिकृत भएपछि मैले प्राय समय जिल्लास्तरकै कार्यालयमा काम गरेर बिताएको छु । दूर दराजको नागरिकको सेवा गर्ने मौका पाएको छु । चप्पलबिनाको खुट्‌टा पट्पटी फुटेका ती कुर्कुच्चाहरु सिधै आफ्ना समस्याहरू राख्न नसक्ने ती मुहार पढेर काम गरिदिएपछि अनपेक्षित खुसीले हासेका ती अनुहार सम्झँदा मलाई विकटमै बसेर सेवा गरौँ जस्तो लाग्छ । कुना कुनामा पुगेर नागरिकलाई खुसी बनाऊ जस्तो लाग्छ । यसैको लागि पनि थप भूमिका पाउन अझै जिम्मेवार बन्न म अर्को तह अथवा उपसचिव हुनुपर्छ भन्ने कुराले भित्र कतै छुन थाल्यो । त्यसपछि उपसचिवको तयारी गर्न थाले ।

लकडाउनको समय थियो । सामाजिक सञ्जाल हेरेर साध्य थिएन । चिनेका जानेकाहरूकै पनि कति अप्रिय खबर आइरहेको थियो । मान्छेसँग मान्छे डराएर भाग्न थालेका थिए । सामाजिक सद्‌भाव र मानवीय संवेदनशीलता हराएर गएको जस्तो अनुभूति हुन्थ्यो । बल्ल घर पल्लो घर आउँजाउँ थिएन । एक हिसाबले घरभित्र मान्छे कैदी जस्तै बनेर बस्नुपरेको थियो । जतासुकै एक प्रकारको सन्त्रास फैलिएको थियो । बजार अफिस सबै ठप्प नै थिए । मैले यही समयको सदुपयोग गर्दै परीक्षाको तयारीमा लागे । एक किसिमले कोरोनासँग लड्ने की लोकसेवासँग लड्ने जस्तो अवस्था पनि थियो । यस्तो विषम परिस्थितिमा पढाइलाई अघि बढाउनु सजिलो त पक्कै थिएन । तैपनि म आफ्नो लक्ष्यमा अडिग भएर लागिरहे आफ्नो कर्मलाई अघि बढाई रहे र अन्ततः सफल पनि भए ।

तयारीको क्रममा सुरुमा बजारमा पाइने थुप्रै पुस्तकहरू किनियो र सबै पढियो । तर परीक्षामा आउने प्रश्न पत्रको प्रकृति हेर्दा पढिएका विषयवस्तुसँग प्रश्नको फेद टुप्पो नै मिलेको पाइएन । पछि बुझ्दै जाँदा पढ्नु पर्ने कन्टेन्ट र कन्टेक्सलाई मिलाएर वृहत् र विश्लेषणात्मक तवरबाट विषयवस्तुको चिरफार गर्नुपर्ने रहेछ । विषयवस्तुलाई फरक फरक डाईमेनसनबाट केलाउनु पर्ने रहेछ । विषयवस्तुलाई तथ्य र तथ्याङ्कको आधारमा तर्क विश्लेषण समीक्षा गरेर प्रस्तुतिलाई ओझिलो र तार्किक बनाउनु पर्ने रहेछ । जति पढे पनि लिखित परीक्षा भएकोले लेखाइमा निखरता र उत्कृष्टता अर्को महत्त्वपूर्ण पाटो हो । वृहत् विषयवस्तुको गहन अध्ययन, तथ्य र तथ्याङ्क सहितको पुस्ट्याइँ,कलात्मक प्रस्तुति, लेखाइमा चातुर्यता, स्व-अनुशासन र ईमान्दारीता नै सफलताका सूत्रहरू हुन् । यी बाहेक विषयगत परीक्षामा जाँचकीको मनोभाव,बुझाईकन स्तर, अनुभव, समय सन्दर्भ र देशकाल परिस्थिति आदीमा पनि निर्भर हुने रहिछ । त्यस्तै आफ्नो मनोभाव, स्वास्थ्य अवस्था, पारिवारिक वातावरण,विषयलाई बुझ्ने तथा विश्लेषण गर्ने क्षमता आदीले पनि लेखाइमा प्रभाव पार्ने रहेछ ।

११. भोगाई र सिकाई:
भाग्य र समयले साथ दिएर होला उपत्यका बाहिर बसेर पनि दुई पटकसम्म विदेशी तालिम गोष्ठीमा भाग लिने अवसर पनि पाए । तीन वटा कार्यालयको प्रमुख भूमिकामा रहेर काम गरे । एउटा महिलालाई घर परिवार र कार्यालय प्रमुखको जिम्मेवारी थामेर आफ्नो करिअर बनाउनको लागि कति दुःख र हैरानी खेप्नु पर्छ त्यो मैले भोगे । तर, जे जति भोगे मिठो गरेर भोगे अहिले पनि ती कुराहरू त्यत्तिकै प्रिय लागेर आउँछ । किनकि जीवनमा आई परेका दुःख र हैरानीलाई मैले आफ्नै ठाने र प्रेम गरे ।

मान्छे बाचेको छ भन्नलाई पनि सपना देख्न पर्छ भन्छन् । नयाँ सपना सिर्जना हो परिवर्तन हो । यात्रा रमाइलो हुनको लागि बिचमा घुम्तीहरू पनि आउनु पर्छ । उचाइ लिन उकालै हिँड्नु पर्छ । अक्करे भिरमा नै फुलेका हुन्छन् सुन्दर फूलहरू । म यही मान्यताको पक्षपोषण पनि हुँ ।

मानिसको जीवन भोगाई र सिकाईको सम्मिश्रण हो । वातावरणबाट मानिसले जे भोग्छ त्यही नै सिक्छ । भोगाई नै सिकाईको वास्तविक माध्यम हो । हरेक समय एउटा पाठ हो सिक्न खोज्नेको लागि । हरेक एक पाइला एउटा सिङ्गो यात्राको थालनी हो अघि बढ्न चाहनेहरूका लागि । मानिसलाईका गर्ने फरक शैली र तरिकाले अरूभन्दा भिन्न बनाउँछ । जीवनमा सफलताको लागि त्याग, मेहेनेर,चोट, कष्ट जस्ता कुराहरू सहन सक्ने क्षमता अवश्य हुनुपर्दछ ।

अध्ययनले भन्छ कम्प्युटरको प्रणाली जीआईजीओ सुत्रमा आधारित छ त्यो भनेको गारबेज इन गारबेज आउट यसमा जे हाल्यो त्यही निस्कन्छ, जे सोच्यो त्यही गरिन्छ ।यसर्थ,सफलताको लागि जहिले पनि मानिसमा सकारात्मक सोंच हुन जरुरी हुन्छ । सकारात्मक सोचले मानिसलाई ऊर्जा, प्रेरणा र हौसला प्रदान गर्दछ । सबैभन्दा बढी त आफूलाई माया गर्ने आफूमा जे छ, आफू जस्तो छ त्यस्तै स्विकार्ने र आफ्नो कर्म र क्षमतामा विश्वास गर्नाले मानिसलाई सफलता हासिल गराउँछ ।

मैले आफ्नो जीवनमा केही गर्नुपर्छ भन्ने लागेदेखि हालसम्मको भोगाइबाट सिकेको महत्त्वपूर्ण पाठ यही हो । मैले जे भोगे त्यही लेखे । आशा गर्छु मेरा यी मेरो भोगाई,सिकाई अनि अनुभवहरूले तपाईँको मन र दिमागमा केही गर्ने सोंच पलाउनेछ । फेरी पनि भन्छु जीवनमा आशा रहिरहोस्, विश्वास भइरहोस् अनि पो जीवन चलिरहन्छ ।एउटा डाँडा काटेपछि अर्कै डाँडा देखूँ लागोस् एउटा पहाड चढेपछि अर्कै पहाड चढूँ लागोस् अनि पो जीवन प्रिय लाग्छ …तपाईँको समय पनि ऊर्जाशील बनोस्, तपाई हरेक समयलाई माया गर्नुहोस्, सफल हुन प्रयास गर्नुहोस् एकिदिन तपाई अवश्य सफल बन्नुहुनेछ ।

( हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १,विराटनगरमा उपसचिव पदमा कार्यरत)