काठमाडौँ। सुर्खेतको सिटी बसपार्क सञ्चालकविरुद्ध वीरेन्द्रनगर नगरपालिका अदालत पुगेको छ ।
भाडाबापतको ३७ करोड रकम नबुझाएर फरार भएपछि बसपार्क सञ्चालनको जिम्मा लिएको पिआर कन्स्ट्रक्सन भक्तपुरविरुद्ध नगरपालिका जिल्ला अदालत सुर्खेतमा शुक्रबार मुद्दा दायर गरेको हो ।
भाडा रकम बुझाउन भन्दै पिआर कन्स्ट्रक्सनलाई १४ पटक पत्राचार गरिसक्दा पनि नटेरेपछि न्यायका लागि अदालत पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताए ।
उनका अनुसार पिआर कन्स्ट्रक्सनले ०७८ भदौ यताको भाडा तिरेको छैन । पिआर कन्स्ट्रक्सनले भाडाबापत ३७ करोडभन्दा बढी रकम नगरपालिकालाई तिर्न बाँकी छ । जसमा तीन करोड ७३ लाख साँवा र ३४ करोड हर्जना रकम रहेको तिवारीले बताए ।
नगरपालिका र कम्पनीबीच भएको सम्झौताअनुसार मासिक भाडा अर्को महिनाको १५ गतेसम्ममा बुझाउनुपर्ने हुन्छ । तोकिएको समयमा भाडा नबुझाएको खण्डमा १ प्रतिशतका दरले जरिवाना लाग्छ । भाडा उठाउन एक महिना नाघेको खण्डमा २ प्रतिशत र दुई महिना नाघेको खण्डमा ५ प्रतिशतले हर्जाना लाग्ने सम्झौतामा उल्लेख छ ।
पिआर कन्स्ट्रक्सनले सम्झौता बमोजिम राजस्व भुक्तानी नगर्दा करोडौँ रकम हर्जना बढ्दै गएको हो । भाडा रकम तिर्न नसकेपछि पछिल्लो समय ठेकेदार कम्पनिका प्रतिनिधीहरुले बसपार्क छाडेको प्रमुख प्रशासकीय अधिकृत तिवारीले बताए ।
गत असार ३१ गते बसेको कार्यपालिका बैठकले सम्झौता बमोजिम भाडा बुझाउन सम्पर्कमा नआएपछि कानुनी प्रक्रियामा जाने निर्णयसमेत गरेको थियो ।
ऋण लिएर निर्माण गरिएको बसपार्क ०६८ सालमा निर्माण कार्य थालनी गरेर ०७६ मा सम्पन्न भएको थियो । ०७७ मङ्सिर १५ मा पिआर कन्स्ट्रक्सनले सञ्चालनका लागि जिम्मा लिएको थियो ।