काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग छानबिनका लागि बनाइएको सिफारिस समितिको बैठक आज बस्दै छ।
समितिको बैठक आज दिउँसो २ बजे बस्ने समिति सचिव लक्ष्मीप्रसाद गौतमले बताए । बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानबिन गर्न कार्यविधि र कार्यतालिका तय गर्नेछ।
साथै समितिको सभापति चयन गर्नेछ। जबरामाथि छानबिन गर्न प्रतिनिधिसभाले ज्येष्ठ सदस्य रामबहादुर विष्टसहित २२ फागुनमा ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो।
प्रतिनिधिसभाबाट २२ साउनमा महाभियोग प्रस्तावमा छानबिन गर्ने जिम्मेवारी पाएको समितिको १ भदौमा बसेको पहिलो बैठकमा कार्यविधिको मस्यौदा र कार्य तालिकामा छलफल भएको थियो।
प्रतिनिधिसभाका ९८ सांसदले गत फागुनमा २१ वटा अभियोग लगाउँदै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए।
महाभियोग लागेसँगै जबरा निलम्बनमा परेपछि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेका छन्।