रुपन्देही । बुटवलमा शुक्रबार विद्यालय गएका ३ जना विद्यार्थी बेपत्ता भएका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गा नगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षका प्रदीप पन्थी शुक्रबार बिहान विद्यालय हिँडेपछि विद्यालयमा पनि हाजिर नभएको र घरमा पनि सम्पर्कविहीन भएका हुन् ।
नवीन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने १ जना सँगै घरबाट निस्के पनि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । सागर पौडेलका मामा राजु पन्थीले बिहान झोला बोकेर विद्यालय गए पनि कतै सम्पर्क नभएकाले सबैतिर खोजबिन गरिरहेको र प्रहरीमा पनि निवेदन दिएको बताए ।
बेपत्तामध्ये समीर लम्सालले शनिबार दिउसो २ बजे आफन्तलाई फेसबुक म्यासेनजरमा खबर पठाउँदै आफूहरूलाई अज्ञात स्थलमा राखिएको जानकारी दिएका छन् । उनको आफूहरूलाई अचेत बनाएर ल्याएको र २ बजे मात्रै होस खुलेको म्यासेजमा लेखे पनि त्यसपछि कुनै सम्पर्क भएको छैन ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठग बहादुर केसीले परिवारको निवेदन अनुसार सबैतिर खोजतलास भएको तर शनिबार भएकाले कल डिटेल र अन्य प्रविधिबाट हेर्न नसकिएको जानकारी दिए ।
उनले अभिभावक र विद्यालय प्रशासन सबैलाई सचेत रहन आग्रह गरेका छन् ।