काठमाडौँ । आईसीसी ट्वान्टी-२० विश्वकपको फाइनलमा आज इंग्ल्यान्डविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गररहेको छ ।
अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा इंग्ल्यान्डका कप्तान जस बटलरले टस जितेपछि फिल्डिङको निर्णय लिए । बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानलाई पहिले ब्याटिङको निम्तो दिए ।
सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई सात विकेटले र इंग्ल्यान्डले भारतलाई १० विकेटले हराएको थियो ।
दुवै टिमले हालसम्म समान एक पटक ट्वान्टी-२० विश्वकपको उपाधि जितेका छन् । पाकिस्तानले सन् २००९ को विश्वकप जित्दा इंग्ल्यान्डले २०१० विश्वकपमा आफ्नो नाम लेखाएको थियो ।
यसबाहेक दुवै टिमले समान एक-एक पटक फाइनल खेलेका छन् । पाकिस्तान सन् २००७ को फाइनलमा भारतसँग पराजित भएको थियो । इंग्ल्यान्ड २०१६ को फाइनलमा वेस्ट इन्डिजसँग हारेको थियो ।