काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय दलको नेतामा दाबी गर्ने नगर्ने विषयमा अहिले नै निर्णयमा नपुगेको बताएका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै कोइरालाले संसदीय दलको नेतामा दाबी गर्ने नगर्ने विषयमा साथीहरूसँग सल्लाह गरेर मात्रै निर्णय लिने बताए ।
यो विषयमा सहकर्मी र पार्टीका नेतासँग सल्लाह गरेर मात्रै अघि बढ्ने उनको भनाइ थियो । चुनावी प्रक्रिया नसकिँदै दलको नेतामा दाबी गर्न उपयुक्त नहुने भन्दै उनले भने, ‘नतिजा आइसकेको छैन, को-को साथीले जित्नु भयो भन्ने सबै जानकारी पनि छैन, समानुपातिकमा को हुने पनि थाहा छैन । अब सल्लाह गरेर मात्रै अघि बढ्छु ।’
‘म भर्खरै निर्वाचित भएको छु। अब ३-४ दिन विराटनगरमै रहन्छु,’ उनले फेरि भने, ‘त्यसपछि काठमाडौँ पुगेर साथीहरूसँग सल्लाह गर्छु ।’ उनले निर्वाचनपछि सत्तारुढ गठबन्धनले नै सरकार बनाउने बताए ।