काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैङ्क र मेगा बैङ्क एकापसमा गाभिने अन्तिम सम्झौता भएको छ। दुवै बैङ्कका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् । यससँगै दुई बैङ्क मर्जरको बाटो टुङ्गो लागेको हो।
नेपाल राष्ट्र बैङ्कले नेपाल इन्भेष्टमेन्ट बैङ्क र मेगा बैङ्कलाई आगामी पुस २२ गतेसम्म एकापसमा गाभिनका लागि समयसीमा तोकेको छ। तोकिदिएको समयभित्र नै एकापसमा गाभिई एकीकृत कारोबार गर्ने तयारीमा रहेको मर्जर कमिटी एक सदस्यले बताए ।
नेपाल इन्भेष्टमेन्ट र मेगा बैङ्कबिच गत जेठ २७ गते १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको थियो ।
हाल नेपाल इन्भेष्टमेन्ट बैङ्कको चुक्ता पुँजी १८.३१ अर्ब र मेगा बैङ्कको १६.१२ अर्ब छ। दुवै बैङ्क एक भएपछि बैङ्कको चुक्ता पुँजी रु ३४.४३ अर्ब हुनेछ ।
मर्जरपछि संस्थाको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे बन्ने र संस्थाको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क रहने सहमति भएको छ ।