काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले यो निर्णय गरेसँगै त्रिविको माहोल तातेको छ । तर, पुसको यो चिसोमा त्यो तातोले त्रिविमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो पार्न भने सकेको छैन ।
एक वर्षभन्दा बढी समय बितिसक्दा पनि परीक्षाको नतिजा सार्वजनिक नभएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बल्खु स्थित त्रिविको परीक्षा नियन्त्रण कार्यालय अगाडी कालो ब्यानरसहित विरोध प्रदर्शन र धर्ना दिएका छन् । ‘लामो समयसम्म नतिजा प्रकाशन नहुँदा विद्यार्थीहरू आन्दोलनमा उत्रनु परेको छ,’ विद्यार्थी भुवन भट्टले भने, ‘हजारौँ विद्यार्थीको भविष्यमाथि त्रिविले खेलवाड गर्यो । यो अवस्थामा विद्यार्थी कसरी निर्वाचनमा सहभागी होलान् ।’
त्रिविअन्तर्गत ६२ आङ्गिक र १ हजार ४० सामुदायिक÷निजी क्याम्पस रहेका छन् । ती सबैमा त्रिविले २०६५ यता स्ववियु निर्वाचन गर्न सकेको छैन । १४ वर्षसम्म स्ववियु निर्वाचन हुन नसक्दा विश्वविद्यालय सभादेखि क्याम्पसका महत्त्वपूर्ण निकायमा विद्यार्थीको प्रतिनिधित्व हुन सकेको छैन । विद्यार्थी सङ्गठनहरूका अनुसार स्ववियुकै निर्वाचन नभएका कारण त्रिविमा धेरै समस्याहरू देखा परेका हुन् । ती समस्या समाधानका लागि पनि त्रिविका विभिन्न निकायमा विद्यार्थीको प्रतिनिधित्व आवश्यक रहेको उनीहरूको भनाइ छ ।
अहिलेको प्राथमिकता परीक्षाको नतिजा प्रकाशन गर्नु हो कि स्ववियु निर्वाचन ? विद्यार्थीको प्रश्न छ । निर्वाचन कार्यतालिका आउनु अगावै नतिजा सार्वजनिक गर्न विद्यार्थी सङ्गठनले दबाब दिइरहेका छन् । अनेरास्ववियुको प्राथमिकता स्ववियु निर्वाचन कि परीक्षाको नतिजा प्रकाशन भन्ने जिज्ञासामा अध्यक्ष सुनिता बरालले विद्यार्थीका लागि परीक्षा सञ्चालन र परीक्षाको नतिजा प्रकाशन गर्ने विषय नै महत्त्वपूर्ण रहेको स्पष्ट पारिन् । ‘स्ववियु निर्वाचनसम्बन्धी बैठकमा मैले प्रष्ट रूपमा भनेको छु । परीक्षा सम्पन्न भएको तीन महिना पुगेका सबै परीक्षाको रिजल्ट निकाल्नु पर्छ,’ उनले भनिन्, ‘परीक्षाफल प्रकाशन हुने सुनिश्चितता भएसँगै हामी स्ववियु निर्वाचनका लागि तयार भएका हौँ ।’
स्ववियु निर्वाचन सम्पन्न गर्ने र परीक्षाको नतिजा प्रकाशन गर्ने विषय फरक फरक हुन् । विद्यार्थीका लागि परीक्षा सञ्चालन र परीक्षाको नतिजा नै महत्त्वपूर्ण भएको बरालको भनाइ छ । ‘स्ववियु निर्वाचन सम्पन्न गर्ने र रिजल्ट निकाल्ने विषय फरक फरक विषय हुन् । विद्यार्थीका लागि परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशन गर्ने कुरा नै महत्त्वपूर्ण हो । तर, ती सबै विषयलाई संयोजन गर्न संस्थागतरुपमा स्ववियु चाहिन्छ,’ उनले भनिन् ।
त्रिभुवन विश्वविद्यालय नेपालकै सबैभन्दा ठुलो शैक्षिक संस्था हो । समयमा परीक्षाफल प्रकाशित नहुँदा विभिन्न सङ्काय र तहका हजारौँ विद्यार्थी प्रभावित भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले तीन वर्षे बीए कार्यक्रमको तेस्रो वर्षको, चार वर्षे बीबीएस कार्यक्रमको चौथो वर्षको नतिजा सार्वजनिक गर्न सकेको छैन । तर, स्नातकोत्तरमा भर्ना भने खुलाइ सकेको छ । सबै नतिजा नआई भर्ना खुलाएको भन्दै विद्यार्थीहरूले चर्को विरोध गरिरहेका छन् ।
परीक्षाको नतिजा छिटो सार्वजनिक गर्न विद्यार्थीले सुरु गरेको आन्दोलनलाई ओझेलमा पार्न त्रिविले स्ववियु निर्वाचनको कुरा अघि सारेको हो कि भन्ने आशङ्का विद्यार्थीमा छ । तर, त्यस्तो भ्रममा नपर्ने र नतिजा प्रकाशन नभएसम्म स्ववियु निर्वाचनमा भाग नलिने विद्यार्थी नेताहरुले बताएका छन् ।
नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले स्नातक तहको नतिजा सार्वजनिक नभएसम्म स्ववियु निर्वाचनमा भाग नलिने बताए । ‘मैले भिसी साबलाई फोन गरेर भनेको छु । निर्वाचनको कार्यतालिका सार्वजनिक हुनु भन्दा पहिले स्नातकको परीक्षाको नतिजा सार्वजनिक गर्नु पर्यो । यदि त्यसो भएन भने नेविसंघको आपत्ति रहन्छ,’ उनले भने, ‘उहाँहरूले रिजल्ट निकाल्न लागि रहेको जवाफ दिनु भएको छ । मागका बारेमा सकारात्मक रहेको पाएको छु ।’
विद्यार्थीको नतिजाको सन्दर्भमा अखिल क्रान्तिकारीले भदौ महिनामै त्रिविमा ज्ञापन पत्र बुझाएको थियो । जसमा परीक्षा भएको तीन महिनामै नतिजा प्रकाशन गर्नुपर्ने माग गरिएको थियो । आफ्नो माग अहिलेसम्म सुनुवाइ नहुनुलाई त्रिविको बेथितिको रूपमा अखिल क्रान्तिकारीले लिएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले समयमा नतिजा प्रकाशन गर्नुपर्ने त्रिविको जिम्मेवारी भएकाले यसबाट पन्छिन नमिल्ने बताइन् । ‘छिटोभन्दा छिटो नतिजा प्रकाशन गर्न दबाब दिने हाम्रो जिम्मेवारी हो र स्ववियु निर्वाचन सम्पन्न गराउने पनि हामीमाथि जिम्मेदारी छ । यी दुवै जिम्मेवारी हामी सँगसँगै पुरा गछौं,’ उनले भनिन्, ‘हामी स्पष्ट छौँ । भदौमै उपकुलपतिलाई भेटेर नतिजा सार्वजनिक गर्न लिखित माग गरेका छौँ । त्यसैले निर्वाचनको कार्यतालिका भन्दा पहिले परीक्षाको नतिजा आउनु पर्छ ।’
स्ववियुकै निर्वाचन नभएका कारण त्रिविमा धेरै समस्याहरू देखा परेको अनेरास्ववियुले जनाएको छ । ती समस्या समाधानका लागि पनि स्ववियु निर्वाचन आवश्यक रहेको नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए । स्ववियु निर्वाचनको लागि वातावरण बनाउन पहिले परीक्षाको नतिजा सार्वजनिक हुन जरुरी रहेको अध्यक्ष पराजुलीको भनाइ छ । ‘विश्वविद्यालयले स्ववियु निर्वाचन गर्ने हो भने परीक्षाका नतिजाहरू, तालिकाहरू व्यवस्थित गरेर मात्रै निर्वाचन गर्नुपर्छ,’ उनले भने, ‘विद्यार्थी नै वञ्चित हुने गरी अघि बढेमा त्यो जायज हुँदैन । सबै समस्यालाई टुङ्गो लगाएपछि निर्वाचनमा जाँदा राम्रो हुन्छ ।’
परीक्षाको नतिजा सार्वजनिक नभएको बारेमा विरोध हुन थालेपछि त्रिविले स्ववियु निर्वाचनको विषय अघि सारेको धेरैको बुझाइ छ । त्रिविले स्ववियु निर्वाचन देखाएर विद्यार्थीलाई अलमलाउन षडयन्त्र रचेको विद्यार्थीहरूले आरोप लगाएका छन् । तर, त्रिविले यो मान्न तयार छैन ।
त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले यो महिनाभित्र नतिजा प्रकाशन भइसक्ने जानकारी दिए । ‘कोभिडका कारण रिजल्ट प्रकाशमा ढिलाइ भएको हो । हामी रिजल्ट प्रकाशनको अन्तिम चरणमा छौँ,’ उनले भने । त्रिविले स्ववियु निर्वाचन देखाएर विद्यार्थीलाई अलमलाउन षडयन्त्र रचेको विद्यार्थीहरूको आरोप गलत भएको उनको जिकिर छ । उनले भने ‘यो महिनामा सबै रिजल्ट निस्कन्छ । स्ववियु निर्वाचन चैतमा छ । यसकारण षडयन्त्र भन्ने कुरै आउँदैन ।’