धनगढी । बैङ्क तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैङ्क तथा अर्थ मन्त्रालयको नीतिमा सुधारको माग गर्दै व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
बैङ्क तथा वित्तीय संस्थाका कारण व्यवसायीलाई मर्का परेको भन्दै सुधारका लागि १० बुँदे माग राख्दै आन्दोलन थालेका हुन्।
मङ्गलवार बिहानैदेखि कैलाली उद्योग वाणिज्य सङ्घलगायत अन्य व्यावसायिक सङ्घ संस्थाले धनगढीमा विरोध प्रदर्शन तथा आन्दोलन गरेका हुन्।
धनगढीको चौराहदेखी पार्क मोडसम्म विरोध र्याली निकालेका उनीहरूले सरकार, नेपाल राष्ट्र बैंकविरुद्ध नाराबाजी समेत गरेका छन्। अहिले उनीहरूको पार्क मोडमा विरोध कोणसभा जारी छ।
व्यवसायीले एक अङ्कको ब्याजदर कायम हुनुपर्ने, बैङ्कहरूको आन्तरिक खर्च कटौती गरी स्प्रेड दर ३ प्रतिशत हुनुपर्ने, सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी गत वर्षकै आधारमा लिइनु पर्ने, ब्याज बुझाउने म्याद ३५ दिन सम्म नियमित मान्नुपर्ने, लिलाम प्रक्रिया स्थगित गरिनुपर्ने र कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न कार्यक्रम ल्याउनुपर्ने माग राखेका छन्।
विरोध प्रदर्शनमा होटेल व्यवसायी सङ्घ, मदिरा व्यवसायी सङ्घ, इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन, नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नाट्टा सुदूरपश्चिम, हार्डवेयर व्यवसायी सङ्घ, होलसेल व्यवसायी सङ्घ, निर्माण व्यवसायी सङ्घ, ब्युटी पार्लर व्यवसायी सङ्घ, तरकारी तथा फलफूल व्यवसायी सङ्घ र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनले ऐक्यबद्धता जनाएका छन्।