काठमाडौँ । डिभिजन वन कार्यालय, बाँकेले सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर-टहरा भत्काएको छ।
सहायक वन अधिकृत गणेश खड्काका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिकाको झगडिया गाउँनजिकै हुलाकी सडक छेउमा बनाइएका घर-टहरा भत्काइएको हो।
वन कार्यालयले पहिलो चरणमा हालसालै बनेका नयाँ घर टहरालाई भत्काएको छ। सार्वजनिक सूचना दिएर घर–टहरा भत्काएको सहायक वन अधिकृत खड्काको भनाइ छ।
राप्ती नदी पूर्व पर्ने हुलाकी सडकछेउको धरैजसो सरकारी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। डिभिजन वन कार्यालयले अतिक्रमित सबै बस्ती क्रमिक रूपमा हटाउँदै जाने जनाएको छ।







