काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले द्वन्द्वकालीन मुद्धा र शान्ति सम्झौताले सम्बोधन गरेको विषयलाई उल्ट्याउन खोज्नेहरू देशमा टिक्न नसक्ने बताएका छन् ।
आइतबार काठमाडौँमा माओवादी पृष्ठभूमिका आठ पार्टीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले नेपालमा जनता उठेको हेर्न नचाहने, विद्रोह गरेको हेर्न र अधिकार सम्पन्न भएको हेर्न नचाहनेहरू सलबलाएको दाबी गरे ।
“प्रधानमन्त्रीलाई समेत नियन्त्रण गर्न खोजेको छ । यहाँ आदिवासी, सुकुम्वासी, दलितलगायत जनताहरूको हालत के होला ? यो क्रान्तिको अपूर्णता हो । यो राज्य नेपाली जनताको भइसकेको छैन,” उनले भने, “यसको उचित जवाफ दिन जरुरी छ । जनताको तागतबाट जन्मिएको व्यवस्था र परिवर्तनलाई सीमित मुट्ठीभरहरूको हातमा लगेर जनता र नेता-कार्यकर्तालाई अपराधीकरण गर्न खोजेका छन् । तिनीहरू यो देशमा टिक्ने छैनन् । हाम्रो प्रतिरोधको सामु टिक्ने छैनन् ।”