काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरूमा गम्भीर समस्याहरू देखा परेको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गरेका हुन्।
सांसद पौडेलले भन्नु भयो, ‘पछिल्लो समय हवाई क्षेत्रमा अत्यन्तै गम्भीर त्रुटिहरू देखिएका छन्। कुनै जहाजको पाङ्ग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरू अलपत्र बन्ने स्थिति बनेको छ। पछिल्लो रिर्पोटले प्रस्ट भन्छ, नेपालमा हवाई दुर्घटनाका पछाडि इन्जिनले काम नगरेको जस्ता यान्त्रिक कारण भन्दा व्यवस्थापकीय पक्षमा चुक्दा बढी दुर्घटनाहरू हुन्छन्। तर, सम्बन्धित निकायको नेतृत्व यस विषयमा बेखवरजस्तै छ। सभामुख महोदय, हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राखेका छन। तर हाम्रोमा यस विषयलाई किन गम्भीरतापूर्वक लिइँदैन ? सम्मानित संसदमार्फत् म सरकारलाई आग्रह गर्न चाहन्छु(हवाई क्षेत्रमा देखिएका समस्यालाई गम्भीर पूर्वक लिइयोस्।’







