काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन सचिव कृष्णहरी पुष्करले बेरुजु फर्छ्यौट गर्न परिपत्र जारी गरेका छन् । मङ्गलवार ७७ वटै जिल्ला समन्वय प्रमुख र जिल्ला समन्वय अधिकारीलाई पाँच बुँदे परिपत्र जारी गरेका हुन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिमको दायित्व तथा जिम्मेवारी पुरा गर्ने गरी तत्काल गरी बेरुजु फर्छ्यौट कार्यमा उच्च प्राथमिकता दिन सचिव पुष्करले भनेका छन् ।
महालेखा परीक्षकको कार्यालयबाट नियमित हुनुपर्ने भनी औँल्याइएको बेरुजुको सम्बन्धमा आवश्यक प्रमाण तथा कागजात जुटाई तथ्यपरक प्रतिक्रिया तयार गरी पुष्टयाईसहित सक्कल टिप्पणी फाइल नियमित गर्नका लागि २०८० जेष्ठ १५ गते भित्र मन्त्रालयमा उपलब्ध गराउन भनिएको छ ।
महालेखा परीक्षकको कार्यालयबाट असुल उपर गर्नुपर्ने भनी औँल्याइएको बेरुजुको सम्बन्धमा तत्काल असुल उपर गर्न सम्बन्धित कर्मचारी, व्यक्ति, फर्म, संस्था, समूह, समिति वा अन्य निकायमा पत्रचार गर्न, सूचना पठाउन भनिएको छ ।
यस्तै, असुल उपर गरी महालेखा परीक्षकको कार्यालयबाट सम्परीक्षण गराउन, महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण हुँदा, पेस्की बेरुजुको रूपमा कायम भएको बेरुजुको सम्बन्धमा आवश्यक प्रमाण कागजात विल भरपाई आदि सङ्कलन गरी यथाशीघ्र पेस्की फर्छ्यौट गर्ने र महालेखा परीक्षकको कार्यालयबाट सम्परीक्षण गराउन निर्देशनमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०५९(६० सम्मको पुरानो बेरुजुको हकमा असुल उपर गर्नुपर्ने, सरकारी हानी नोक्सानी र मस्यौट भएको बाहेकको बेरुजु लगत कट्टाको लागि आवश्यक प्रक्रिया पुरा गरी लगत कट्टा गर्ने वा लगत कस्ने प्रयोजनको लागि कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयमा पठाउन पनि भनिएको छ ।
कार्यालयको नाममा कायम बेरुजु तत्काल फर्छ्यौट गर्ने गराउने कार्यलाई अभियानको रूपमा सञ्चालन गर्ने त्यसको प्रगति प्रतिवेदन मन्त्रालयमा पेस गर्न भनेका सचिव पुष्करले बेरुजु फछ्यौटको प्रतिशतलाई कार्यसम्पादनको मूल्याङ्कनको महत्त्वपूर्ण आधारको रुपमासमेत लिइने भन्दै आर्थिक वर्ष २०७९/८० को बेरुजु फर्छ्यौट कार्य योजना र मार्गदर्शन प्राप्त भएको स्मरण गराएका छन् ।
