काठमाडौँ । सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता भएका सिटिइभिटीका तीन जना कर्मचारी पाँच दिनसम्म पनि फेला परेका छैनन्।
बेपत्ताहरू र गाडीको निरन्तर खोजी कार्य भइरहेको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) राजकुमार सिलवालले जानकारी दिए ।
उनका अनुसार नदीको धार परिवर्तन गरेर पानीको बहाव घटाउने काम भइरहेको छ ।
उनले प्रशासनसँग भने, ‘अवस्था अज्ञात छ, पानी डाईभर्ट हुँदै छ, पानीको बहाव घटाउने प्रयासमा छौ, सुनकोसी नै डाईभर्ट गर्ने तयारी छ ।’
जेठ १९ गते शुक्रबार बिहान सुनकोशीमा खसेको सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडीमा सवार ३ जना बेपत्ता छन्। गाडीका चालकलाई भने त्यही दिन उद्धार गरिएको थियो।
सम्बन्धित समाचार : सरकारी गाडी सुनकोशीमा खस्यो, तीन जना बेपत्ता
बेपत्ता हुनेमा गाडीसहित सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत् प्रशिक्षक ३२ वर्षीय भानु पौडेल छन् ।
सम्बन्धित समाचार : सुनकोसीमा खसेको गाडीमा सवार थिए सीटीईभीटीका निर्देशकसहित ४ जना
एसपी सिलवालका अनुसार अनुसार खोजी कार्यको लागि गोताखोरको टोलीसहित ५ वटा स्काभेटर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत ४०-५० जना परिचालन गरिएको छ।







