काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्कलाई निष्क्रिय बनाइएकोमा गुनासो गरेका छन्।
आज (शनिबार) वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सार्कको अस्तित्व नै नभएजस्तो अवस्थामा रहेकाले गुनासो गरेका हुन्।
‘सार्कको अहिले अस्तित्व नै छैन जस्तो भइसक्यो। अस्तित्व छैन, यो डिजल्ट भनेर कसैले भनेको छैन। तर, यसको अस्तित्व मानेर संसार चल्ने खालको कुनै गतिविधि हुँदैन,’ उनले भने।
अध्यक्ष ओलीले सार्कमा अहिले दुईवटा कुरा मात्रै रहेको बताए। उनले एउटा काठमाडौंमा सेक्रेटरी हेड र अर्को व्यूरोक्रयाटिक मिटिङहरू मात्रै भएको बताए।
‘यसले सार्कले दिनुपर्ने कुरा दिन सकेको छैन। यसमा कुनै व्यक्तिगत इगो, कोही देशका इगो होलान्। यस्ता कुराहरूले गर्दा एउटा क्षेत्रीय सङ्गठन अशक्त अथवा निरीह भएर बस्ने स्थितिमा छ,’ उनले भने।