काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र जाजरकोटको नलगाड नगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नलगाड नगरपालिकाका नगर प्रमुख डम्वरबहादुर रावतले बिहीबार हस्ताक्षर गरेका हुन् छ ।
सम्झौता पछि नगरपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोही उद्यमीहरूलाई बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ । सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत को कर्जा कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सम्झौताले कर्णाली प्रदेशमा बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा लगानी गरेको बताउनुभयो । नलगाड नगरपालिकाका नगर प्रमुख डम्वरबहादुर रावतले नगर क्षेत्र कृषिको पकेट क्षेत्र भएकाले कृषि उत्पादनमा सहयोग पुग्ने बताए ।
कर्णाली प्रदेशका पूर्व मन्त्री गणेशप्रसाद सिंहले बैंकको सहुलियतपूर्ण कर्जाले जनताको जीवनस्तर उकास्ने बताए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अवलम्बन गरेको सहुलियतपूर्ण कर्जा प्रवाहको पृष्ठभूमिको बारेमा बताउँदै उत्पादन, रोजगारी र आय सृजना गरी आर्थिक विकासमा योगदान पुर्याइरहेको बताए । उक्त कार्यक्रममा बैंकका उप कार्यकारी अधिकृतहरू विमल डङ्गोल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुखहरू सरोज बस्नेत, अच्युत गौतम तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कृषि तथा सामाजिक बैंकिङ्ग विभागका विभागीय प्रमुख ऋषभ भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २ सय ८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २ सय ६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।







