काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले मेलेसियालाई ८५ रनको विजयी लक्ष्य दिएको छ।
बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनायो ।
नेपालका लागि सिता रानामगरले सर्वाधिक ३८ रन बनाइन्। उनले ५४ बलको सामना गर्दै एक चौकाको मद्दतमा नटआउट रहिन्। कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउँदा अप्सरी बेगमको नाममा १७ रनको योगना रह्यो।
नेपालले २४ रन बनाउँदा ५ विकेट गुमाएको थियो। छैठौं विकेटका लागि सिता र रुबिनाले ५१ रनको साझेदारी गर्दै नेपाललाई मध्यम अवस्थामा पुर्याए। नेपालको ७५ रन हुँदा कप्तान रुबिनालाई गुमायो। नेपालका ३ खेलाडी शून्यमा आउट भए।
मलेसियाकी अइना हामिजले २ तथा इजाती इस्माली र निक नुरले समान १/१ विकेट लिए। नेपालले चार देशसम्मिलित महिला टी–२० आई सिरिजको फाइनलमा हङकङविरुद्ध उतारेको टोलीलाई नै निरन्तरता दिएको छ। टोलीमा कुनै पनि परिवर्तन गरेको छैन।
प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन्। समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्।
प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टि२० क्वालिफायर खेल्न पाउनेछन्।







