काठमाडौँ । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। टस जितेर भारतले फिल्डिङ रोजेपछि नेपाल पहिला ब्याटिङमा तानिएको हो।
नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । श्रीलङ्काको क्यान्डीमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो हार व्यहोरेको नेपाल भारतविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा हुनेछ ।
एसिया कपको सदाबहार दाबेदार भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग अङ्क बाँड्दै अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । उमेर समूहमा पटक पटक खेलिसके पनि सिनियर टोलीमा नेपाल र भारतबीच पहिलो पटक खेल हुन लागेको हो ।
सन् २०१७ मा एसिसी अन्डर नाइन्टिन एसिया कपमा नेपालले भारतलाई १७ रनले हराएको थियो । उक्त ऐतिहासिक जितका ६ खेलाडी दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भिम सार्की, सन्दीप लामिछाने, आसिफ शेख र किशोर महतो यस पटक पनि टोलीमा छन् ।
श्रीलङ्काको क्यान्डी मैदानमा भारतले हालसम्म खेलेका ४ खेलमध्ये ३ मा जित निकाल्दा १ खेल वर्षाले रद्ध भएको छ । ती ३ वटै जितमा उसले घरेलु टोली श्रीलङ्कालाई हराएको थियो ।