म्याग्दी । सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापर खेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ ।
बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापर खेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबिया चौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो ।
मङ्गला गाउँपालिका–३ का वडा सदस्य हरि गिरीले वर्षायाममा अवरुद्ध बनेको बरञ्जा–सातबिसे–बाबियाचौर खण्डको सडक मर्मत गरी आज दिउँसोदेखि मिनिबस, जीप, मोटरसाइकल, स्कुटर, ट्याक्सी र ट्र्याक्टर चलाउन मिल्ने बनाइएको जानकारी दिएका छन् ।
“निरन्तर खसिरहेको पहिरो नरोकिँदासम्म मर्मत गर्न नसकिने भएकाले दसैँको समयमा जन्मथलो जाने नागरिकलाई राहत दिने उद्देश्यले गाउँपालिकाले वैकल्पिक सडक सञ्चालन गरेको हो”, उनले भने ।
बेनी–दरबाङ सडकलाई, म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने ‘लाइफलाइन’ मानिन्छ ।
यसैबीच फापर खेतमा पहिरो निरन्तर झरेकाले पन्छाउने काम सुरु गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।
पहिरो र वैकल्पिक सडकको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गैरेले स्थलगत निरीक्षण गरी यातायात सञ्चालन र सडक मर्मतका लागि सहजीकरण गरेका थिए ।
विसं २०५८ मा सो सडक मार्ग सञ्चालनमा आएदेखि नै पहिरोले दुःख दिने गरेको जानकारी दिँदै सदस्य गिरीले यस अघिभन्दा फरक स्थानमा पहिरोको समस्या देखिएकाले बाध्य भई वैकल्पिक मार्ग खोल्न परेको बताए ।



