काठमाडौँ । रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबिच कुटाकुट भएको छ । शुक्रवार बिहान तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबिच विमानस्थलमै कुटाकुट भएको हो ।
बिहान करिब ८ः३० बजे विमानस्थलको एप्रोनमा श्रेष्ठ र शाहबिच धकेलाधकेल भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै रामेछाप विमानस्थलका प्रमुख अशोक थापाले जानकारी दिए । उनका अनुसार दुवै क्याप्टेनलाई ग्राउन्डेड गरिएको छ । थापाले घटना हुनुमा अहिलेसम्म व्यक्तिगत कारण रहेको बुझिएको जानकारी दिए ।
शाह सोलुको लुक्लाबाट जहाज लिएर विमानस्थलमा अवतरण गरेका थिए भने श्रेष्ठ लुक्ला उडानको लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै थिए । दुई जनाको भेट हुँदा कुटाकुट भएको हो । घटनापछि श्रेष्ठले जहाज लिएर लुक्ला पुगेका छन् भने शाह रामेछापमै छन् ।
घटनाका विषयमा दुवै क्याप्टेनसँग स्पष्टीकरण सोधिएको विमानस्थल प्रमुख थापाले बताए । थापाले भने, ‘घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानविन समिति बन्छ । समितिले सबैकुरा पत्ता लगाउँछ ।’ उनका अनुसार उडानमा कुनै समस्या आएको छैन ।
सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन
घटनापछि सन्तोष शाहले सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दिएका छन् । आफूमाथि कुटपिट भएकोले सुरक्षाको माग गर्दै शाहले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुली जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको पराजुलीले बताए । उनले भने, ‘निवेदन परेपछि मैले सञ्जीव श्रेष्ठलाई फोन गरेँ । उहाँ लुक्ला हुनुहुन्छ । लुक्लाबाट आउँदै हुनुहुन्छ । हाम्रो भनाभन चलेको हो । म आएपछि कुरा गरौँला भन्नु भएको छ ।’
उडानमा प्रतिबन्ध
तारा एयरका वरिष्ठ क्याप्टेन सञ्जीव श्रेष्ठ र क्याप्टेन सन्तोष शाहलाई विमान कम्पनीले उडानमा प्रतिबन्ध लगाएको छ । उनीहरू बिचको कुटाकुटको घटना सार्वजनिक भएसँगै उडानमा प्रतिबन्ध लगाइएको हो ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले कुटाकुट गर्ने दुवै क्याप्टेनलाई उडानमा प्रतिबन्ध लगाएको जानकारी दिए । घटनाबारे छानबिन भइरहेको उनले बताए ।
प्रवक्ता बर्तौताका अनुसार दुई जना पाइलटबिच व्यक्तिगत कारणले झगडा भएको देखिएको र विस्तृत विवरण आउन बाँकी रहेको छ । ‘उहाँहरूबिच कम्पनीका कारण झगडा भएको देखिन्न’, उनले भने, ‘कुनै व्यक्तिगत कारण हुन सक्छ ।’
सम्बन्धित समाचार : तारा एयरका दुई पाइलटबीच कुटाकुट, उडानमा प्रतिबन्ध