ढोरपाटन (बागलुङ) । बागलुङमा भुईँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज ज्यान गएको हो ।
गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुईँमा लत्रिएको तार कुल्चिँदा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्युत् आयोजनाको लापरबाहीका कारण नेपालीको मृत्यु भएको स्थानीयको आरोप छ ।







