काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल: सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा रहेको बताएका छन् ।
पार्टीनिकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले नेपालमा समाजवाद स्थापनाका लागि नै सो अवधारणालाई अघि सारेको बताए । नेपालले गरिबीविरुद्धको लडाइँमा सफलता हासिल गरेरमात्रै समाजवादमा पुग्ने भएकाले आफ्नो पार्टीले जनतामा खुशी ल्याउने गरी मुलुकको समृद्धिको बाटो तय गरेको उनको भनाइ छ ।
ओलीले समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अझै घनिभूत बनाएर लैजानुपर्ने औँल्याएका छन् ।
उनले भने, ‘हामी प्राथमिकता राष्ट्रिय स्वतन्त्रता हो । हाम्रो परराष्ट्र नीति र सम्बन्ध पारस्पारिक लाभ, आपसी सम्मान, सामाजिक न्यायको आधारमा हुन्छ । हामी प्रतिबद्ध छौँ, ‘समृद्ध नेपाल: सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्नका लागि । समृद्ध नेपाल: खुशी नेपाली नै नेपाली सन्दर्भको समाजवादी विचारधारा हो । गरिबी विरुद्धको लडाइँमा सफलता हासिल गर्नु नै नेपाली विकासको अवधारणा हो ।’