काठमाडौँ । काठमाडौँको कोटेश्वरस्थित एक गेस्ट हाउसबाट ३४ ग्राम लागूऔषध खैरो हेरोइन र पाँच लाख ८० हजार रुपैयाँ नगदसहित चार जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–९, तिलगंगास्थित एक गेस्ट हाउसमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
ब्युरोले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका-२ घर भएका २० वर्षीय भरोष मुखिया, २६ वर्षीय धनिकलाल मुखिया, २६ वर्षीय पवन मुखिया र ३६ वर्षीय महमद सजाबुल शेष रहेका छन्।
ब्युरोबाट खटिएको टोलीले २०८३ कात्तिक ७ गते गेस्ट हाउसमा कोठा बुक गरी बसिरहेका व्यक्तिहरूले लागूऔषध खैरो हेरोइन बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट ३४ ग्राम खैरो हेरोइन र पाँच लाख ८० हजार रुपैयाँ नगद बरामद गरेको छ। बरामद नगदको स्रोत तथा लागूऔषध कारोबारसँग त्यसको सम्बन्धबारे थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
प्रहरीले पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर लागूऔषध कारोबारसम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।




