काठमाडौँ । मोरङको बेलबारी नगरपालिका-१ मा पत्नीको हत्या गरेपछि पतिले पनि आत्महत्या गरेका छन्। मोरङ प्रहरीले दिएको जानकारी अनुसार बेलबारी नगरपालिका-१ का ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया पत्नी गीता लिम्बूको हत्या गरेपछि आत्महत्या गरेका हुन्।
प्रहरीका अनुसार बमबहादुरले बुधबार बिहानका पौने दुई बजेतिर धारिलो हतियार दाउले प्रहार गरेर पत्नी गीताको हत्या गरेका थिए। टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको थियो।
पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले बताएको छ। घाँटी रेटेर गम्भीर घाइते अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो। उनको विराटनगरको नोबेल अस्पताल उपचारका क्रममा मृत्यु भएको हो।