काठमाडौँ। नेपाली काँग्रेसले आफूहरूले संसदमा उठाउँदै आएका माग छल्न सरकारले संघीय संसदको हिउँदे अधिवेशन नै अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको टिप्पणी गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
काँग्रेसकी सचेतक शुशिला थिङले सरकारले यस्तो यस्तो निर्णय लिनु अगाडि प्रमुख प्रतिपक्षी दलसँग पर्याप्त छलफल र परामर्श नगरेको बताइन् ।
उनले भनिन्, ‘चालू अधिवेशन अन्त्य गर्ने समय हुँदै थियो । वैशाख पहिलो सातासम्म चलाउन सकिन्थ्यो । तर, सरकारले संसदीय छानबिनको माग छल्न संसद अधिवेशन अन्त्यको सिफारिस गरेको हाम्रो बुझाइ छ ।’
काँग्रेसले सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आरोपित रहेको बताउँदै आएको छ ।
यही चैत ६ गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामिछाने सहकारीको रकम अपचलनमा संलग्न नरहेको प्रहरी ब्रिफिङ रहेको बताएका थिए ।
प्रधानमन्त्रीको जवाफप्रति चित्त नबुझाएको काँग्रेसले त्यसयता संसदीय छानबिन समिति गठनको माग राख्दै आएको छ । आफूहरूको माग सम्बोधन नभई संसद अधिवेशन अन्त्य गरेर सरकारले समस्यालाई पन्छाउन खोजेको काँग्रेसले बताएको छ ।
अर्को अधिवेशनमा समेत यो विषय उठ्न सक्ने काँग्रेस सचेतक थिङको भनाइ छ ।