काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बिहीबार प्रतिनिधि सभामा भएको घटनाको मूल जिम्मेवारी सभामुख देवराज घिमिरेको भएको बताएका छन् ।
बिहीबार साँझ संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी उनले सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदन अवरुद्ध गरेका बेला जबरजस्ती संसद्लाई कार्यसूचीमा प्रवेश गराएको बताए ।
‘आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो, यसको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ । किनकि सदनलाई जबरजस्ती कार्यसूचीमा प्रवेश गराएर एक प्रकारको अप्रिय अनपेक्षित स्थिति सिर्जना गर्ने कामको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ’, उनले भने ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार काँग्रेसको अवरोधका बाबजुद संसद चल्छ भनेको र त्यसको भोलिपल्ट संसदमा त्यही दृश्य देखिएको भन्दै थापाले सभामुख आदेश पालकको भूमिका देखिएको आरोप लगाए ।
‘सम्माननीय सभामुख एउटा पार्टीको नेताको आदेश पालकको रूपमा उहाँको भूमिका यसरी रहने कुरा हाम्रा लागि दुखको विषय हो, यसरी निरन्तर रूपमा जाँदैन भन्ने अपेक्षा गर्छौँ । र उहाँको भूमिका जिम्मेवारीपूर्ण रूपमा निर्वाह गर्न सचेत गराउँछौँ’, थापाले भने ।
सभामुख घिमिरेले बिहीबार सत्तापक्षका तीन पार्टीका अध्यक्षसँग परामर्श गरेर त्यसै अनुसार बैठक चलाएको पनि थापाले बताए ।