काठमाडौँ। नेकपा एमालेले कोशी प्रदेश सरकारमा पठाउने ३ जना मन्त्रीको नाम टुङ्गो लगाएको छ । एमाले स्रोतका अनुसार एमालेबाट लिलावल्लभ अधिकारी, पाँचकर्ण राई र एकराज कार्कीको नाम टुंगोमा पुगेको छ ।
एमालेले अन्य दुई जनालाई राज्यमन्त्री पनि नियुक्त गर्नेछ । हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा एमालेबाट राम राना बिनाविभागीय मन्त्री छन् ।
९ मन्त्रालय रहेको कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र माओवादी केन्द्रले ३ मन्त्रालय लिने सहमति गरिसकेका छन् । २ दलबाट एक-एक जना बिनाविभागीय मन्त्री छन् । एमालेले अब ३ र माओवादी केन्द्रले २ मन्त्री पठाउन बाँकी छ।
नेकपा एमालेले मन्त्रीको नाम टुङ्गो लगाउँदा नेकपा माओवादी केन्द्रमा भने झमेला टुङ्गिएको छैन । १३ सांसद रहेको माओवादी केन्द्रमा दलका नेता इन्द्रबहादुर आङ्बोबाहेक सबै मन्त्रीका आकांक्षी छन् । यसअघि गणेश उप्रेतीलाई सरकारमा पठाएको माओवादी केन्द्रले अब दुर्गा चापागाईँ, राजेन्द्र कार्की, नारायण बुर्जामगर, गोम्बु शेर्पा, बाबुराम गौतम,राजन किराँती र सपना दर्जी मध्येबाट २ जनालाई पठाउनेछ ।