काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार संसदमा दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको बताएको छ ।
विश्वासको मत लिने क्रममा काँग्रेस सांसदहरुले वेल घेराउ गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए । उनले काँग्रेसलाई ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।
संसद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा काँग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
प्रधानमन्त्रीले आफूहरूले पटक पटक सहयोग गरेको बिर्सिएको बताएका थिए । काँग्रेस प्रमुख सचेतक लेखकले माओवादीलाई काँग्रेसले शान्तिप्रक्रियामा ल्याएको बर्सिनुभयो भनेर प्रतिप्रश्न गरेका छन् ।
‘भोटको राजनीतिमा आएपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौँ’। उनले भने, ‘तपाईँलाई जंगलबाट राजनीतिमा ल्याउने काँग्रेस हो कि को हो ?रु बिर्सिनुभयो ! हतियारको बलमा परिवर्तन गर्छु भनेर हिँड्नुभएको तपाईँलाई शान्तिमा कसले ल्याएको हो बिर्सिनुभयो !’
प्रधानमन्त्रीले चर्को मूल्य चुकाउनुपर्छ भनेको भन्दै उनले भने, ‘के मूल्य चुकाउनुपर्छ ? तपाईँहरू गैर जिम्मेवार भएर जाने, ७३ लाख सहकारी बचतकर्ताको रकमको सुनिश्चितता छैन । त्यसमा संलग्न भएकाहरूमाथि कारबाही गर्ने योजना छैन । अनि नेपाली काँग्रेसविरुद्ध गैर जिम्मेवार ढंगले लाञ्छना लगाउने रु यस्तो बोल्न बन्द गरिदिनुस् ।’