काठमाडौँ । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)ले ‘फिल्मको रचनात्मक सहर’को नयाँ सदस्य काठमाडौँ महानगरपालिकालाई प्रमाणपत्र प्रदान गरेको छ ।
काठमाडौँमा आयोजित समारोहमा युनेस्को नेपालका प्रमुख माइकल क्रफ्टले महानगर उपप्रमुख सुनिता डंगोललाई क्रिएटिभ सदस्यताको सर्टिफिकेट प्रदान गरे । उक्त अवसरमा क्रिएटिभ सहरको लोगो समेत सार्वजनिक गरियो ।
सो अवसरमा महानगरले फिल्मका संघ-संस्थालाई बोलाएर क्रिएटिभ सिटीको अवधारणालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बारेमा छलफल चलाएको थियो । सहभागी फिल्ममेकरले कार्यपत्र प्रस्तुत गर्दै सुझाव समेत पेश गरेका थिए ।
सर्टिफिकेट प्रदान गर्दै युनेस्को प्रमुख क्रफ्टले काठमाडौँमा फिल्मको सम्भावना उज्ज्वल रहेको बताए । धेरै लगानीकर्ताको ध्यान ऊर्जाजस्ता क्षेत्रमा रहे पनि फिल्मजस्ता सफ्टपावरमा पनि विकास जरुरी रहेको उनले बताए ।
उपप्रमुख डंगोलले सरोकारवालाको ज्ञान र सीपलाई महानगरले उपयोग गर्ने बताइन् । उनले यी ज्ञान र सीपलाई अन्तर्राष्ट्रिय सञ्जालमा समेत प्रस्तुत गर्ने बताइन् ।