काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको समन्वयमा काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका पार्टी प्यालेस तथा क्याटरिनका सञ्चालकहरू र सेफहरूलाई खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी तालिम प्रदान गरिएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत महानगरपालिका क्षेत्र भित्रका ५५ वटा पार्टी प्यालेस तथा क्याटरिनका सञ्चालकहरू र सेफ गरी ११० जना व्यक्तिहरूलाई बिहीबार खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी तालिम प्रदान गरिएको हो । सर्वसाधारणको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको विषयमा पार्टी प्यालेस तथा क्याटरिनका सञ्चालकहरूलाई खाद्य स्वच्छता अभिवृद्धि तालिम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले खाद्य स्वच्छता अभिवृद्धि गर्नको लागि व्यवसाय अनुगमन निरीक्षण, खाद्य स्वच्छता सम्बन्धित अन्तरक्रिया र छलफल कार्यक्रमहरू आगामी दिनमा सञ्चालन गर्ने प्रतिबद्धता जनाइन् । खाद्य ऐन नियम बारेमा प्रकाश पार्दै उनले यस्ता अन्तरक्रिया तथा नियमित अनुगमनले व्यवसायी सजक गराउने बताइन् । अटेर गरेर नियम विपरीत गर्नेलाई नियमानुसार प्रचलित कानुन बमोजिम कारबाही गर्ने उनले प्रस्ट पारिन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत किशोर खत्रीले खाद्य पदार्थको गुणस्तर तथा स्वच्छताका विषयमा विशेष गरी पार्टी प्यालेस तथा क्याटरिन व्यवसायमा खाद्य पदार्थहरू जस्तै माछा, मासु, दूध, फलफूल आदिको गुणस्तर कसरी पहिचान गर्ने र स्वच्छ तथा गुणस्तरीय खाद्य वस्तु तयारीको लागि अवलम्बन गर्नुपर्ने असल अभ्यासको बारेमा घटना विवरणसहित प्रस्ट पारे । विभागका ब. खा. अ. अ. मोहन कृष्ण महर्जनले विभागले खाद्य स्वच्छता कायम राख्न गरिएका प्रयास, यसमा व्यवसायीको भूमिका, खाद्य ऐन, नियम, कोडेक्स, एसपीएस सम्बन्धी जानकारी गराउँदै पार्टी प्यालेस तथा क्याटरिन व्यवसाय खाद्य स्वच्छताको हिसाबले अति संवेदनशील व्यवसाय भएकोले सो सँग सम्बन्धित सञ्चालक तथा सेफले खाद्य स्वच्छता कायम राख्न निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा प्रस्ट पारे ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख श्रीराम न्यौपानेको अध्यक्षता भएको कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत द्वय किशोर खत्री र मोहन कृष्ण महर्जनले प्रशिक्षकको रूपमा तालिम सहजीकरण गरेका थिए । पार्टी प्यालेस तथा क्याटरिन व्यवसायी सङ्घ अध्यक्ष उत्तम प्रकाश शर्माले तालिम उपलब्धि मूलक भएकोमा खुसी व्यक्त गरे । पार्टी प्यालेस र क्याटरिन सेवा तथा उपभोक्ता स्वास्थ्यमा खाद्य स्वच्छताले धेरै महत्त्व राख्ने भएकाले यस कार्यक्रममा सिकिएका ज्ञान आफ्नो कार्यक्षेत्रमा व्यवहारमा लागु गर्ने र गराउने प्रतिबद्धता उनले व्यक्त गरे ।
नियमित खाद्य उद्योग, खाद्य बजार, होटेल रेस्टुरेन्ट अनुगमन तथा निरीक्षण, खाद्य सम्बन्धी आएका गुनासो सम्बोधन तथा व्यवस्थापन, खाद्य स्वच्छता कायम राख्न नियमित नमुना सङ्कलन, मुद्दा व्यवस्थापन जस्ता कार्य कार्यालयले नियमितरुपमा गर्दै आएको छ ।








