काठमाडौँ । कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा फसेका १२ खच्चडको उद्धार भएको छ भने २ को मृत्यु भएको छ ।
दैनिक उपभोग्य बस्तु ढुवानीका लागि अछामबाट दैलेख आउने क्रममा कर्णाली नदी माथिको झोलुङ्गे पुलको जालीमा अड्किएका खच्चडलाई जाली काटेर कर्णाली नदीमा खसाले उद्धार गरिएको छ ।
आइतबार बिहान साढे ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका-९ बाट दैलेखको आठबिस नगरपालिका-४ खिड्कीज्यूला बजारमा आउने क्रममा झोलुङ्गे पुलको एकातर्फका दुइटा लठ्ठा चुँडिदा १४ खच्चड जालीमा फसेका थिए ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीका साथै स्थानीयले जालीमा अड्किएका खच्चडलाई जाली काटेर कर्णाली नदीमा खसालेका थिए । एउटा खच्चडको पुलमै मृत्यु भएको र अर्कोको कर्णाली नदीमा खसाल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।







