काठमाडौँ । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणजस्ता विशेष प्रकृतिका मुद्दा हेर्ने अदालत हो विशेष अदालत । विशेष अदालत काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दर्ता गर्ने थलो पनि हो ।
विशेष प्रकृतिका मुद्दा हेर्दै आइरहेको विशेष अदालतले मुद्दा फर्छ्योटमा रेकर्ड कायम गरेको छ । अदालतले चालु आर्थिक वर्षमा ४४३ वटा मुद्दा फैसला गर्ने लक्ष लिएकोमा सोमबारसम्म ४५३ वटा मुद्दा फैसला गरेको छ । विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता धन बहादुर कार्कीका अनुसार यो तथ्यांक लक्ष भन्दा बढी हो । ‘हामी लक्ष भन्दा माथि छौँ । १०२ प्रतिशत मुद्दा फर्छ्योट गरी सक्यौँ । असर मसान्तसम्म यो तथ्यांक अझ माथि जान्छ ।
उनका अनुसार अहिले अदालतमा ९३ वटा मुद्दा मात्र फैसला हुन बाँकी छन् । दुई वर्ष भन्दा पुराना मुद्दा बाँकी नरहेको उनले बताए । असार मसान्तसम्म एक वर्ष भन्दा पुराना मुद्दा नराख्ने अदालतको लक्ष छ । इजलास व्यवस्थापन र म्याद तामेललगायतका प्रशासनिक काममा अदालतले दिएको तदारुकताले मुद्दा फर्छ्योटमा शीघ्रता आएको हो ।
टिकापुर, झापा लगायतका स्थानका धेरै प्रतिवादी भएका मुद्दाका कारण केही मुद्दा फैसला हुने समय केही लम्बिएको हो ।







