काठमाडौँ । नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले बजेट पहुँचको आधारमा विनियोजन भएको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्रीको प्राथमिकता, नीति तथा कार्यक्रम र बजेटमा तादम्यता नरहेको उल्लेख गर्दै उनले भने, ‘मन्त्रीले आफ्नो निर्वाचन क्षेत्र हेर्ने प्रवृत्ति दोहोरिएको छ । यसले समाजवादउन्मुख बजेट गर्ने कुरामा उपहास भएको छ ।’
एकै मन्त्रीले आफ्नो जिल्लामा २०३ वटा योजना लिएर लगेको आफूले पाएको बताए । पहुँचका आधारमा योजना र बजेट तर्जुमा गर्दा अन्य सांसदहरू निरीह हुन पुगेको उनको भनाइ छ ।
‘चुनावमा सबै दिने भनेर आउँछौँ तर सांसद भएपछि माग्ने जस्तो हुन्छौँ,’ उनी थप्छन्, ‘सांसदले के काम गर्ने हो त्यसमा क्लियर गर्नुपर्छ । हामी विधायक हौँ र कानुन बनाएर मात्रै रहन्छौँ भन्ने हो भने यही संसद्ले सङ्कल्प गर्नुपर्छ । होइन भने सांसदले लाचार भएर मन्त्री र कर्मचारीको ढोकामा आत्मसम्मान गिराउनुपर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’