काठमाडौँ । लागुऔषध कारोबार भइरहेको सूचना पाएर खानतलासीमा पुगेको प्रहरीले काठमाडौँका छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ ।
लागुऔषधका रूपमा प्रयोग हुने औषधि फार्मेसी र एक युवकको डेराबाट उल्लेख्य परिमाणमा लागुऔषध फेला परेपछि प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका-२६ गोङ्गबु मित्रनगरको कविता फार्मेसीबाट ट्रामाडोल ट्याब्लेट ६५० पिस बरामद भएपछि सञ्चालक गोरखा पालुङटार-४ की २५ वर्षीया विनीता कुमाललाई पक्राउ गरिएको छ ।
यस्तै कोटेश्वरमा लागुऔषध कारोबार भइरहेको सूचना पाएर पुगेको प्रहरी टोलीले पश्चिम रुकुमको त्रिवेणी-३ का २६ वर्षीय दीपेन्द्र वली, भक्तपुर-४ का २४ वर्षीय रुकेश श्रेष्ठ, ललितपुरको मंगलबजार बस्ने सिन्धुलीका २३ वर्षीय राकेश खड्का र ग्वार्को बस्ने ओखलढुंगाको सुनकोशी-७ का २२ वर्षीय ध्रुव कटवाललाई पक्राउ गरेको छ ।
वलीको कोटेश्वर सहयोगीनगरस्थित डेराबाट ट्रामाडोल ट्याब्लेट ३८ हजार ९४ पिस बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।