धनगढी । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले वास्तविक नाम नखुलेको रसायन र प्रयोग गर्न सकिने म्याद नाघेको धुलो रसायनहरू फलफूलमा प्रयोग नगर्न भनेको छ ।
वास्तविक नाम नखुलेको रसायन र प्रयोग गर्न सकिने म्याद नाघेको धुलो रसायनहरू फलफूल पकाउन प्रयोग गरेको सूचना प्राप्त भएको भन्दै कार्यालयले सूचना निकालेर ती रसायनहरू प्रयोग नगर्न नगराउन भनेको हो । खाद्य नियमावली २०२७ को नियम १९(घ) बमोजिम कार्वाइड/एसिटिलिन ग्याँसको प्रयोग गरी फलफूल पकाउन र त्यसरी पकाइएको फलफूल (आँप, केरा, आदि) विक्री वितरण गर्न निषेध गरिएको स्मरण गराउँदै कार्यालयले त्यस्तो कार्य नगर्न, नगराउन फलफूल आयातकर्ता, भण्डारणकर्ता तथा विक्रेता लगायत सम्बन्धित सबैलाई सूचित गरेको हो ।
सूचनाको विपरीत कार्य भए गरेको पाइए कानून बमोजिम कारबाही गरिने कार्यालयले चेतावनी दिएको छ । साथै कार्यालयले प्रतिबन्धित रसायन प्रयोग गरी फलफूल पकाइएको शंका लागेमा त्यस्तो फलफूल खरिद तथा उपभोग नगर्न र त्यस्तो अनुचित कार्य भइरहेको थाहा भएमा कार्यालयलाई जानकारी गराउन पनि अनुरोध गरेको छ ।
यससँगै कार्यालयले अनुगमनलाई पनि तीव्रता दिइएको छ । विभिन्न पसलहरूमा अनुगमन गरी कार्यालयले प्रतिबन्धित रसायन प्रयोग गरेर पकाइएका फलफूल नष्ट गरेको छ भने अनुसन्धानका लागि पसल शील पनि गरेको छ ।