डोटी । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर २ खरहरमा रहेको चन्द्रमुखी सामुदायिक वनका अध्यक्ष वीर बहादुर नामजाली दुई लाख धरौटीमा छुटेका छन् ।
चन्द्रमुखी सामुदायिक वनबाट अवैध काठ कटानीमा संलग्न रहेका अध्यक्ष नामजालीलाई जिल्ला अदालत डोटीको आदेशमा हाल २ लाख धरौटी सहित तारिखमा छोडिएको डिभिजन वन कार्यालय डोटीका प्रमुख गोकुल रिजालले जनाएका छन् ।
यस्तो थियो घटनाक्रम
चन्द्रमुखी सामुदायिकवनले २०७९ फागुन २६ गते २८ वटा रुखको २०७६.२९ क्यिूफीट काठ कटानीका लागि डिभिजन वन कार्यालय बाट आदेश मागेको थियो सोही बमोजिम १ सय ८१ गोलियाको २००४.७४ क्यिू फिट निकासीको लागि छुट पुर्जी जारी गरिएको थियो । तर सामुदायिक वनले सोही वर्षमा विभिन्न बाटो अवरोध लगायतका कारण देखाउँदै काठ निकासी गर्न सकेको थिएन ।
फेरी सामुदायिक वन ले डिभिजन वन कार्यालय डोटीमा २०८० माघ महिलाको ११ गते काठ निकासीका लागि म्याद थपका लागि निवेदन दिएको थियो । म्याद थपको लागि निवेदन दिएका एक दिन नबित्दै १२ गते ५ ट्रकमा काठ राखी निकासी हुँदै गरेको अवस्थामा स्थानीयले वैध सँग अवैध काठ निकासी भईरहको छ भनेर काठ नियन्त्रणमा लिएका थिए । काठ नियन्त्रणमा लिए पश्चात् काठ लोड गरिएको गाडीहरू खरहरमा काठ झारेर फरार रहेका थिए ।
अवैध काठको विषय बाहिर आइसकेपछि २०८० माघ १३ गते डिभिजन वन कार्यालयले डिभिजन प्रमुखको नेतृत्वमा स्थलगत निरीक्षण गरी कार्यालयका सूचना अधिकारी वन अधिकृत लक्ष्मीराज जोशीको संयोजकत्वमा अवैध काठको विषयमा छानबिन गर्न छानबिन समिति गठन गरिएको छ ।
छानबिन समितिको प्रतिवेदन अनुसार सामुदायिक वनका अध्यक्ष नामजालीले छुट पुर्जीबाहेकको २३ थान गोलियाको १८०.४१ क्यिूफीट काठ अवैध रूपमा कटानी गरेको ठहर गरेको छ । सोही विषयमा डिभिजन वन कार्यालय डोटीले सामुदायिक वनका अध्यक्ष वीर बहादुर नाम्जालीलाई प्रतिवादी बनाई जिल्ला अदालत डोटीमा २०८१ जेठ १४ गते अभियोजन पत्र दायर गरेको थियो ।
जिल्ला अदालत डोटीको आदेश अनुसार अध्यक्ष नामजालीलाई वन ऐन २०७६ को दफा ५० उपदफा (ङ) अनुसार १ वर्ष सम्म कैद वा बिगो बमोजिम जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था अनुसार २ लाख धरौटी सहित तारिखमा रिहा गरिएको डिभिजन वन कार्यालयले डोटीले जनाएको छ । मुद्दाको पूर्ण फैसला हुन बाकी रहेको छ ।