काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले ६ महिना भन्दा बढी समय नेपालमा आइ अनुसन्धान गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्ने बताएका छन् ।
शनिवार ललितपुरमा आयोजित कार्यक्रममा उनले कुनैपनि देशबाट नेपालमा आइ ६ महिना भन्दा बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरूका लागि विद्यार्थी भिसा उपलब्ध गराउनुपर्नेबारेमा सरकार स्तरमा छलफल चलिरहेको बताएका हुन् ।
उनले ६ महिना बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरूका लागि विद्यार्थी भिसा दिन सके नेपाल अध्ययन गर्ने गन्तव्य स्थलका रूपमा विकास हुने बताए । उनले सरकारले आगामी आर्थिक वर्षभित्र देशमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै १५ लाखमध्ये ५ लाख विद्यार्थीहरू नेपाल भित्र्याउन सक्नुपर्ने बताए ।






