काठमाडौँ । नेपालमा धानलाई प्रमुख खाद्यान्नका रूपमा लिइन्छ । परम्परागत रूपमा मानिसहरुले खाने गरेको खानाको रूपमा विविधता हुने गर्दथ्यो । भूगोल र मौसम अनुसारको खाना हुन्थ्यो । जस्तो कि मकै, कोदो, गहुँ, फापर आदि । जसले गर्दा सन्तुुलन सहज थियो । तर, पछिल्लो समय धेरै मात्रामा चामल उपयोग गर्दा स्वाथ्यमा असर पर्छ भनेपछि मात्र अन्य अन्नहरूको खोजी हुने गरेको छ । यद्यपी अहिले पनि चाललको प्रयोग बढ्दो मात्रामा छ । जसले गर्दा भोकमरीको भन्दा पनि ‘भातमरी’को समस्या छ भन्ने उखान नै प्रचलनमा आउन थालिसकेको अवस्था छ ।
विगतमा चामल निर्यात गर्ने देश नेपालमा वर्षेनि ठूलो धनराशी चामललगायत खाद्यवस्तु आयातमा खर्च हुने गरेको छ । नेपाललाई कृषिमा आत्म निर्भर बनाउने योजना पुरानै भएपनि यो पुरा हुने छनक भने पछिल्ला वर्षहरुमा देखिँदैन । प्रत्येक वर्ष असार १५ लाई सरकारले धान दिवशका रुपमा मनाउँदै पनि आएको छ तर उत्पादनमा भने त्यसले असर गरेको महसुस कृषकहरुले गर्न सकिरहेका छैनन् । हिजो शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रममा धान उत्पादन बढिरहेको दाबी गरे ।


धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिंदै सरकारले आगामी दशकलाई कृषि दशक भनेर नीति तथा कार्यक्रम बजेटमा प्राथमिकतामा राखिएको प्रधानमन्त्री ‘प्रचण्ड’ को भनाई छ । धानमा आत्मनिर्भर हुन व्यवसायिक खेती प्रणाली, सिचाइँको सुविधा, यान्त्रिकीकरणलाई प्राथमिकतामा राखिने उनको जोड थियो ।
यता राष्ट्रपति भवन शीतल निवासमा पनि रोपाइँ कार्यक्रम आयोजना गरिएको थियो । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए ।

“पहिला देशमा फलफूल तरकारीभन्दा धान बढी उत्पादन हुन्थ्यो । धनधान्य भए पनि धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो, धान बाहिरबाट आयात गर्न थालिएको छ”, राष्ट्रपति पौडेलले भने, “यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपीनका लागि फेरि धानको उत्पादन, कृषि पेसा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ ।”
नेपालमा धान उत्पादनको अवस्था भारतबाट आयत हुने चामलको तथ्यांक हेर्दा टिठलाग्दो छ । सरकारी उपेक्षा कारण बर्षेनी कृषि उपज मात्रै ३ खर्ब रुपैयाँ बराबरको आयात भइरहेको तथ्यांक छ ।
प्रधानमन्त्रीदेखि कृषि मन्त्रीसम्मले आगामी बर्षमा मुलुक धानमा आत्मनिर्भर बन्ने भनेर घोषणा गर्दै आइरहेका छन् । तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निकायहरुले सार्वजनिक गरेको तथ्यांकमा चालु आर्थिक बर्षको एघार महिनामा १२ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको ३ लाख ७ हजार ४ सय १७ मेट्रिक टन धान आयात भएको छ ।
यस्तै ८ अर्ब ६९ करोड १७ लाख रुपैयाँ बराबरको विभिन्न प्रकारको ८२ हजार ७ सय ९१ मेट्रिक टन चामल पनि आयात भएको छ । नेपालमा ८० लाख टन धानको माग छ । हाल स्वदेशमा वार्षिक ५१ देखि ५५ लाख टन हाराहारीमात्रै धान उत्पादन भइरहेको छ । मागअनुसार वार्षिक करिब ३० लाख टन धान अपुग छ ।
एक सय किलो धानबाट ६० किलो चामल तयार हुन्छ । तर, अहिले ३० लाख ६० हजार चामलमात्रै उत्पादन भइरहेको छ । चामलमात्रै साढे १७ लाखदेखि १८ लाख टन अभाव रहेको आंकलन गरिएको छ ।
चालु आर्थिक बर्ष २०८०।८१ मै नेपालमा १३ लाख ३४ हजार २७७ हेक्टरबाट ५२ लाख ३ हजार ४ सय २६ मेट्रिक टन धान फलेको थियो । त्यस्तै गत आर्थिक वर्ष २०७९-८० मा २० अर्ब ७५ लाखको धान र १५ अर्ब ९१ करोडको चामल आयात भएको थियो ।
नेपालमा धान, चामलको आयात घटाउनका लागि स्वदेशमा उत्पादन वृद्धि गर्नुको विकल्प नभएको विज्ञहरूको भनाइ छ । उत्पादन बढाउनका लागि राज्यले सोही अनुरूप नीति पनि अवलम्बन गर्नुपर्ने उनीहरूको सुझाव छ ।







