काठमाडौँ । प्रतिबन्धित रसायन प्रयोग गरेर पकाएका आँप नष्ट गरिएको छ । कञ्चनपुरको महेन्द्रनगरमा मानवीय स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ ‘कार्बाइड’प्रयोग गरेर पकाइएको पाँच हजार किलो भन्दा बढी आँप बरामद गरी नष्ट गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले पाँच हजार सात सय ८० किलोग्राम आँप बरामद गरेको हो । प्रतिबन्धित रसायन हालेर पकाइएका आँप बिक्री–वितरण बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार अनुगमन गरेको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, कैलालीका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत हरे राम प्रधानका अनुसार कञ्चनपुर–४, गल्ली नं. ३ स्थित बालाजी फ्रुट सेन्टरको फलफूल गोदाममा प्रतिबन्धित रसायन कार्बाइड धुलो पत्रिकामा बेरेर आँपको क्रेटमा राखेको पाईकोले २० किलोका दुई सय ८९ क्रेटमा रहेका पाँच हजार सात सय ८० किलो आँप स्थानीय प्रतिनिधि र प्रहरी प्रशासनको रोहवरमा सिल गरिएको थियो ।
बिक्री वितरण गर्न नपाउने गरी सिल गरिएको उक्त आँप आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, भिमदत्त नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुर, स्थानीय प्रहरी प्रतिनिधि, उपभोक्ता, पत्रकारलगायतका प्रतिनिधिहरूको रोहवरमा नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीले जनाएको छ ।
पछिल्लो समय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशभरका कार्यालयलाई अनुगमनमा सक्रिय बनाएको छ । यससँगै नियमित उपभोग्य वस्तुहरूसँगै सिजनल फलफुलहरुमा अखाद्य वस्तुहरुको मिसावट गर्नेहरूमाथि अन दि स्पट कारबाही शुरु गरिएको छ ।
यतिबेला आँपको सिजन भएकोले सबैभन्दा बढी कारोवार भईरहेको आँपमा अखाद्य वस्तु प्रयोगमा विभागले विशेष चाँसो राख्दै आएको छ । केही समय अघि मात्रै एक सूचना प्रकाशित गर्दै खाद्य नियमावली, २०२७ को नियम १९ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्याँस) को प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरिएको भन्दै विभागले सार्वजनिक सूचना नै प्रकाशन गरेको थियो ।

सम्बन्धित समाचार : खाद्य विभागद्वारा देशभर अनुगमनमा तीव्रता : कार्वाइड प्रयोग गरेका फलफूल खरिद नगर्न अनुरोध